काठमाडौं / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आईएमएफ ‘आर्टिकल फोर’ मिसनले नेपाली अर्थतन्त्रको अध्ययन गरी उक्त निष्कर्ष निकालेको हो।
आर्टिकल फोर मिसनकी प्रमुख लाउरा जरमिलोले भारतको अर्थतन्त्रमा आएको गिरावट, विप्रेषणमा हुनसक्ने सम्भावित कमी र प्रतिकुल मौसमका कारण कृषि उत्पादनमा आउने सक्ने कमीले चालु आर्थिक वर्षमा नेपालले अनुमान गरेअनुसार आर्थिक वृद्धि हासिल नहुने जनाइन् । सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको छ।
मिसन प्रमुख जरमिलोले नेपालमा पछिल्लो समय राजनीतिक स्थिरता, नीतिगत सुधार, विद्युत् आपूर्तिमा भएको सुधार र पुनर्निर्माण क्रियाकलापले गर्दा आर्थिक विस्तार राम्रो भएको बताइन्। उनले चालु पुँजी खातातर्फको घाटा सुधार हुँदै गएको, व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा सञ्चितिको स्थितिले अर्थतन्त्रको बृहत् स्थायित्व रहेको उल्लेख गरिन्।
आईएमएफ वित्तीय क्षेत्रबाट कर्जाको इभरग्रिनिङ भइरहेको प्रति चिन्ता जनाएको छ। कर्जाको इभरग्रिनिङ भनेको कर्जा तिर्न बैंकले थप कर्जा दिएर चालु कर्जा नवीकरण गर्ने चलन हो। यो प्रचलन सदावहार हुँदा नयाँ उद्यमीले कर्जा प्राप्त गर्न कठिनाई भइरहेको आईएमएफको आर्टिकल फोर मिसनले जनाएको छ।
मिसनले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको थियो। मिसनसँगको भेटमा अर्थमन्त्रीले अधिकांश आर्थिक परिसूचक सकारात्मक रहेका, करिब १ अर्ब अमेरिकी डलर बराबर वैदेशिक लगानीको सम्झौता भइसकेको, सहमति भइसकेका आयोजना तुरुन्त कार्यान्वयन गर्न सकिने अवस्थामा रहेको, केही ठूला आयोजना यसै वर्ष सम्पन्न हुने क्रममा रहेको उल्लेख गरे।
अर्थमन्त्री खतिवडाले रेलमार्ग निर्माण तथा सडक मार्गको स्तरोन्नतिका ठूला आयोजना तयारी अवस्थामा रहेका, पर्यटन क्षेत्रमा सुधारका संकेत देखिन थालेको, आगामी वर्षदेखि विद्युत् उत्पादनमा वृद्धि भई निर्यात वृद्धि र आयात प्रतिस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने कारण आर्थिक विस्तारका सम्भावना प्रचुर रहेको मिसनलाई जानकारी गराएका थिए।


















