२६ औं संस्करणकाे क्यान इन्फोटेक, मेला शुरु

118

काठमाडौं ।- देशकै ठूलो प्रविधि प्रदर्शनी क्यान इन्फोटेक सुरु भएको छ । सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलन क्यान इन्फोटेको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेको थियो । २६ औं संस्करणमा मेलामा मोबाइल र ब्रोडब्यान्डलाई छुट्टै पभेलियनमा राखिएको छ भने प्रविधि कम्पनीको उत्पादनसहित ब्रान्डलाई समेट्ने गरी व्यवस्थापन गरिएको छ ।
यो मेला बुधबारसम्म चल्ने छ । प्रदर्शनीमा १ सय ७४ वटा स्टल राखिएका छन् । प्रदर्शनीमा स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । यस्तै, सूचना प्रविधी (आईसीटी) पढाइ हुने कलेजका प्रोजेक्टलाई पनि अलग्दै पभेलियनमा राखिएको छ । गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेकोमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । यस पटकको मेलामा प्रवेश टिकटलाई प्रभु पेबाट पनि खरिद गर्न सकिन्छ ।

यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मुख्य सहरमा विस्तार गर्ने आयोजकले जनाएको छ । यसअन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, बागमति प्रदेशको चितवन र प्रदेश ५ को वुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको क्यान महासंघले जनाएको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।

मेलाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने  जनाए ।  विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनोमी’ बनाउन सहयोग गर्ने उनको दाबी छ ।

मन्त्री बाँस्कोटाले डिजिटल इकोनोमीलाई अगाडि बढाउने हो भने यस कानुनको आवश्यकता पर्ने जनाए ।  उनले सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहले विधेयकको विरोध गरेको जनाए  ।  “सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,” मन्त्री बाँस्कोटाले भने, “मुलुकलाई ‘डिजिटल इकोनोमी’ मा रुपान्तरण गर्ने उद्देश्य राख्ने निजी क्षेत्रले यस विधेयकलाई गलत तरिकाले व्याख्या गरेका छन् ।”

मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐन भन्दा पनि खुकुलो भएको दाबी गर्दै डिजिटल सुशासन हुन नदिनेले यसको विरोध गरेको आरोप लगाए । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनको दाबी थियो ।

“अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउते तथा डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,” उनले भने, “अरुले नबुझे पनि क्यानले यो विधेयकलाई बुभ्mनुपर्छ ।” यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाउने उनको प्रतिबद्धता छ ।

उद्घाटन सत्रमा बोल्दै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान महासंघले विगतदेखि अन्य सरोकारवालासँग सहकार्य गर्दै आएको भन्दौ अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको  उल्लेख गरे ।

अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन  महासंघ जुनसुकै काम गर्न तयार रहेको जनाए ।  नेपालमा सूचना प्रविधि क्षेत्रको विकास भइरहेको भन्दै यसलाई तल्लो स्तरबाट पु¥याउन सूचना प्रविधि शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गर्न आवश्यक रहेको उनले जनाए ।

उक्त  अवसरमा योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले राखेको १० उद्देश्यमध्ये कनेक्टिभिटी एक भएको भन्दै सूचना प्रविधि क्षेत्रको विकासको लागि आवश्यक सहयोग सरकारले गर्ने जनाए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन गरी विभिन्न कार्यक्रम अगाडि बढेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here