टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण

397

कैलाली । टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जनाएको छ ।
तीन करोड ५६ लाख ३६ हजार २३६ रुपैयाँको लागतमा च्याम्बर निर्माण भएको हो । च्याम्बर निर्माणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरको रु. एक करोड ९० लाख आठ हजार ५९१ अनुदान सहयोग रहेको छ भने निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिको रु. एक करोड ६६ लाख २७ हजार ६४५ लागतमा निर्माण भएको हो ।
च्याम्बर निर्माणका लागि च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले ०७६ साल वैशाख १९ गते रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरसँग सम्झौता गरी निर्माणको काम थालनी गरेको थियो ।
कैलाली केरा खेतीको उर्वर भूमिका रूपमा चिनिन्छ । यहाँ उत्पादन भएको केरा देशैभरि जाने गरेको छ । टीकापुर–२ बन्दीपुरमा निर्माण भएको च्याम्बरको क्षमता १५० मेट्रिक टन रहेको छ । मल्टिप्रपोजका रूपमा प्रयोग गर्न सकिने गरी च्याम्बर निर्माण गरिएको छ । च्याम्बरको भवनमा ३०–३० मेट्रिक टन क्षमताका पाँचवटा खण्ड रहेका च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिका सदस्य शिलाकान्त झाले जानकारी दिनुभयो । च्याम्बरमा केरा, आँप र मेवा एउटै मापदण्डमा समयअनुसार पकाउन सकिन्छ । आफ्नै गाउँघरमा केरा पकाउने च्याम्बर बन्दा केरा व्यवसायी नेपबहादुर चौधरील खुसी व्यक्त गर्नुभयो । ‘अब हामीलाई केरा पकाउन सजिलो हुने भएको छ । अर्का केरा व्यवसायी वीरेन्द्र ढुंगानाले पनि अहिले बाहिर केरा पठाउँदा समयमै पैसा नआउनाले आफूलाई समस्या भइरहेको जानकारी दिनुभयो । ‘यसरी केरा पकाउने च्याम्बर टीकापुरमै बन्दा सजिलो हुने भएको छ,’ ढुंगानाले भन्नुभयो, ‘अब किसानको समय पनि बचत हुन्छ । ढुवानी खर्च पनि बचत हुन्छ ।’
केरा व्यापारी यशोदा तिमिल्सिनाले टीकापुरमै उत्पादित केराले टीकापुरमै पकाएर बेच्न पाउने वातावरण बनेकोमा खुसी लागेको जनाए । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरका कार्यालय प्रमुख भरत कँडेलले बाहिर पकाएको केराभन्दा च्याम्बरमा पकाएको केरा मानव स्वास्थ्यका लागि राम्रो हुने जानकारी दिनुभयो । ‘च्याम्बरमा पकाएको केरा उपभोक्ताका लागि पनि फाइदाजनक हुन्छ,’ कँडेलले भन्नुभयो, ‘सिँचाइ आयोजनाले किसानलाई लाभ हुने खालका संरचना निर्माणमा सघाउने गरेको छ ।’ केरा व्यवसायी संघ कैलालीका अध्यक्ष दीपेन्द्र चौधरीका अनुसार अहिले टीकापुर क्षेत्रमा पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here