डोल्पामा बाक्लो हिमपात, विमानस्थल पनि बन्द

377

डोल्पा । हिमाली जिल्ला डोल्पामा जिल्लाभरी नै हिमपात शुरु भएको छ । आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षापछि भारी हिमपात शुरु भएको हो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो र मध्ये डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह,लिकु, त्रिपुराकोट,पहाडा,काइगउँ लगायतका बस्तीहरुमा पनि बाक्लो हिउँ जमेको छ । बिहानै देखि शुरु भएको हिमपात पनि जारी रहेको र दिनभर पर्ने वर्षभरिकै बाक्लो हिउँ जम्ने संकेत देखिएको त्रिपुराकोटका स्थानीयले जानकारी दिएका छन् । बैमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरैपटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँपरेको त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय देबीकृण उपाध्यायले जानकारी दिनुभयो । फागुन अन्तिममा वर्षासँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनाली सप्रन फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रने उहाले भन्नुभयो ।
बिहानैदेखि वर्षासँगै शुरु भएको हिमपातका कारण जुफाल विमानस्थल बन्द भएको छ । धावन मार्गमै हिउँ जमेपछि शुक्रबार बिहान कुनै पनि उडान नभएको नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । डोल्पाली जनताका लागि यातायातको एक मात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामाग्री ढुवानी ठप्प भएको छ । शुक्रबार दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको जुफाल विमानस्थलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here