काठमाडौं — फेब्रुअरी २१ तारिख दिन संसारभरिमा मानव समुदायले मनाउदै आइरहेकाे अन्तर्राष्ट्रिय मातृभाषा दिवस काठमाडाैं उपत्यका आदिबासी नेवार समुदायले पनि विविध कार्यक्रमकाे आयाेजना मनाएकाे छ ।
यस दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना गरी सभामा नेपाली राष्ट्रिय गान आ–आफ्नो मातृभाषामा पनि गाउन पाउनुपर्ने माग गर्दै राष्ट्रिय गीतलाई नेपालभाषामा अनुवाद गरी गाइएको थियो ।
नेपालभाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दर, जनकवि दुर्गालाल श्रेष्ठ लगायतले एक भाषा नीतिका कारण नेपालका मातृभाषाहरु लोप हुँदै गएको अवगत गराए । भाषिक अधिकारका लागि तमाम आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिए ।
सम्पदा एवम् नेपाल भाषा अभियन्ता श्यामकृष्ण प्रजापतिले आफु र आफ्नो समूह भाषा, सम्पदा लगायत सँस्कृति बचाउ अभियानमा लाग्दै गरेको जानकारी दिनुभयो । उनले भाषा नरहे सम्पदा र सँस्कृति साथै जातिकै अस्तित्व पनि नरहने भएकोले भाषा बचाउनुपर्नेमा प्रजापतिले जोड दिए ।
दिवसकै अवशरमा भएकाे एक कार्यक्रममा वरिष्ठ पत्रकार साथै कवि सुरेशकिरण मानन्धरले भाषिक दमनले पनि देश टुक्रिन सक्छ भन्ने उदाहरण बंगलादेश रहेको धारणा राखे । उनले भाषिक अधिकार नदिँदा पाकिस्तानबाट टुक्रेर बंगलादेश बन्न गएको अवगत गराउँदै भाषिक अधिकार दिन राज्यले कन्जुस्याइँ गर्न नहुने मानन्धरले तर्क राखे ।
काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष नीलकाजी शाक्यले पहिचानको कुरा गर्ने प्रचण्डले प्रदेशका नामाकरणमा वागमती नाम किन स्वीकारे भनी प्रश्न राख्नुभयो । अब आफ्नो अधिकार कसैबाट पाइएला भनी आशा नगरी खोसेर लिनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको शाक्यको धारणा थियो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, कवि सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार पुष्कर माथेमा, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, मथुरा सायमि, डा. पुष्पराज राजकर्णिकार लगायतले कविता वाचन गरेका थिए भने गायक कलाकारहरुले आ आफ्नो प्रस्तुति समेत दिएका थिए ।
यस कारण मनाइन्छ अन्तर्राष्ट्रिय मातृभषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको ईतिहास बंगलादेशको शहिद दिवससँग जोडिएको छ । संसारभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइरहँदा बंगलादेशमा शहिद दिवस मनाइन्छ ।
सन् १९५७ सालमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै बंगलादेशको राजधानी ढाकामा आन्दोलन भएको थियो । फेब्रुअरी २१ का दिन राज्यले आन्दोलनमा दमन गर्दा ढाकाको विश्वविद्यालयका पाँच विद्यार्थीले शहादत प्राप्त गरेका थिए ।
संसारभरिमा भाषिक आन्दोलनमा व्यक्ति शहिद भएको यो एउटैमात्र घटना मानिन्छ । यसै दिनको स्मरणमा बंगलादेशमा फेब्रुअरी २१ लाई शहिद दिवसको रुपमा मनाइन्छ ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघले मातृभाषा बोल्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो भन्दै फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा घोषणा गरेको हो । बंगलादेशमा यस दिन सरकारी विदा समेत दिने गरिन्छ ।




















