कोभिड १९ नियन्त्रणका लागि साउदीका तीन सहरमा कर्फ्यु

220

एजेन्सी  – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन साउदीले मुख्य तीन सहरमा कर्फ्युको समय थप गरेको छ ।

साउदीको मुख्य तीन सहर रियाद, मक्का र मदिनामा स्थानीय समय अनुसार दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लाग्ने छ । यसअघि गएको सोमबारदेखि साउदीले बेलुकी सात बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ । कर्फ्युको समयमा हिँडडुल गर्न, समूहमा बस्न प्रतिबन्ध लगाइएको छ ।

यस्तो पाइएमा ९९९ नम्बरमा फोन गर्न पनि साउदीको मिनिष्ट्रि अफ इन्टेरियरले अनुरोध गरेको छ । मक्का राज्यमा हुनेले भने ९११ नम्बरमा फोन गरेर सम्बन्धित निकायलाई जानकारी दिन सकिन्छ ।

साउदीको सरकारी वकिलको कार्यालयले सूचना निकालेर साउदी सरकाले जारी गरेको कर्फ्यु उल्लङ्घन गरेको भिडियो वा कुनै सामग्री फेसबुक वा अन्य सामाजिक सञ्जालमा पोष्ट गर्ने वा कर्फ्यु उल्लङ्घन गर्ने प्रयत्न गर्ने सबैलाई ३० लाख जरिबाना र ५ वर्षसम्म कैद हुनेगरी मुद्दा चलाउन सक्ने भन्दै सतर्क रहन र कर्फ्युको पालना गर्न साउदीमा रहेका सबै नेपालीलाई अनुरोध गरेको छ ।

यस्तै, साउदीले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रि इन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सल गरी लाग्न सक्ने जारिबानाबाट बच्न पनि अनुरोध गरेको छ । साउदीले कोरोना सङ्क्रमण रोक्न अहिले अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेकाले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइटमार्फत सेवा लिन दूतावासले अनुरोध गरेको छ ।

साथै यस सम्बन्धमा हुनै समस्या भएमा साउदीमा रहेको नेपाली दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत विवरण पठाएका सहयोग गर्ने दूतावासले जनाएको छ । साथै कोरोनाको जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।