महामारीमा मानवीय सेवा गर्दै मेट्रो प्रहरी

152

काठमाडौं – सर, अलिकति राहत चाहियो, भोकभोकै मर्नुपर्ने अवस्था आउँला जस्तो भो हजुर –महानगरीय प्रहरीको १०० मा फोन आयो । प्रहरीले सोध्यो– कति जना हुनुहुन्छ ? २० जना छौंँ, उताबाट जवाफ आयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले यो खबर सुनेपछि २० बोरा चामल, दाल, नुन र मसला गाडीमा राख्न लगाउनुभयो । उक्त राहत सामग्री लिएर नेपाल मानव सेवा आश्रम गोङ्गबु पुगेर वितरण गर्नुभयो । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न सरकारले ‘लकडाउन’ सञ्चालन गरेसँंगै विभिन्न बालगृह, वृद्धा आश्रम, मानव सेवा आश्रम, मजदुर, श्रमिक तथा भरिया र विद्यार्थीमा राहतको अभाव देखिएको छ ।

यस्ता व्यक्ति तथा सामाजिक सङ्घसंस्थामा आश्रितलाई महानगरीय प्रहरी कार्यालयले राहत स्वरूप खाद्य सामग्री वितरण सुरु गरेको छ । न्यूनतम १० दिनसम्म पुग्नेगरी खाद्यान्न राहत सामग्री वितरण गरिएको महानगरीय प्रहरीले जनाएको छ । महानगरीय प्रहरीको रानीपोखरीस्थित कन्ट्रोल कक्षको १०० मा फोन आउने बित्तिकै नजिकको प्रहरी कार्यालयसँग समन्वय गरी राहत वितरण गर्ने कार्य भइरहेको प्रहरी प्रमुख पोखरेलले बताउनुभयो । मङ्गलबार मात्र नवजीवन आदर्श ग्राम फुटुङ, नेपाल मानव सेवा गोङ्गबु र पवित्रा सेवा समाज टोखा चण्डेश्वरी तथा कर्णाली घर भएका पाँच विद्यार्थी गरी ८५ जनालाई चामल, दाल, नुन र मसला वितरण गरिएको छ । गत आइतबार र सोमबारमा मात्र मानव कल्याण समाज भक्तपुर, मानव सेवा आश्रम सामाखुसी, सल्लाघारी सडकमा भेटिएका १२ मजदुर, ठिमीमा रहेका १५ श्रमिक, कोटेश्वर र ललितपुरको पाटन लगायतका क्षेत्रमा राहत वितरण गरिएको छ ।

मानवीय सेवाका लागि मेट्रो प्रहरी आमनागरिकको शान्ति सुरक्षाका लागि मात्र नभई राहतमा पनि त्यत्तिकै सक्रिए रहेको प्रहरी प्रमुख पोखरेलको भनाइ छ । उहाँले लकडाउनमा भोकभोकै बस्नुपरेको जनगुनासो आएपछि भोको पेटमा राहत थप्ने काम गरेका हौँ भन्नुभयो । प्रहरीको जिम्मेवारी ‘शान्ति सुरक्षा तथा लकडाउनको पूर्णपालना गराउने’ मात्र होइन, समस्यामा परेकालाई उद्धार गर्नु पनि हो । उहाँले यी तीन दिनभित्र दुई सयभन्दा बढीलाई खाद्यान्न वितरण गरिएको छ भन्नुभयो ।
सरकारले स्थानीय तहबाट राहत व्यवस्थापन गर्न निर्देशन दिए पनि खरिदका लागि बजेट र वितरणका लागि स्पष्ट कार्यविधि नबन्दा जनप्रतिनिधि नै अलमलमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here