कालोबजारी गर्ने पसललाई जरिवाना

207

कैलाली – संयुक्त बजार अनुगमन टोलीले कैलालीको अत्तरीयामा रहेको हिमाल फार्मेसीलाई २ लाख जरिवाना गराएको छ। सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीले जनाएको छ।

अनुगमनका क्रममा टोलीले धनगढी चौराहमा रहेको सरोज मेडिकल हलमा म्याद सकिएका विभिन्न औषधि जफत गरेको छ। उपभोग्य मिति सकिसकेको ५ महिना बढी समय भएका औषधि तथा सिरिन्जका साथै मेडिकलबाट बिलबिजक जारी नभएका औषधि बरामद गरिएको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुन मगरले म्याद सकिएको औषधि तथा सिरिन्जले स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले औषधि व्यवसायीलाई सचेत गराइएको जनाएकाे छ । सरोज मेडिकल हललाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम तत्काल २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। संयूक्त बजार अनुगमनका क्रममा आज धनगढी र अत्तरीयाका ५ औषधि पसल तथा फार्मेसीमा अनुगमन गरिएको थियो।

लकडाउन अवधिमा कैलालीमा अनुगमनकै क्रममा यीसहित ७ वटा व्यवसायिक पसल कारबाहीमा परेका छन्। धनगढीको ग्लोबल सर्जिकल हाउसले पिपिई र मास्कमा कालोबजारी गरेको पाइएपछि दुई लाख, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेवापत २०–२० हजार जरिवाना गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अनुसार धनगढीकै शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला ग्यासमा ग्राहकबाट बढी शुल्क लिएर सिलिन्डर बिक्री गरेको पाइएपछि तीन लाख जरिवाना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here