सहभागीता नम्बर ३० बाबुकाजी सुवाल (विकेश निराशी)।

836

गजल १

बिपत्तिको बेला, रोइ कराइ आत्तिनु हुन्न
साहस र धैर्य, डरत्राससँग साटिनु हुन्न ।।१।।

जिन्दगी घामछाया, सुखदुःख होइन नौलो
पलभरको सुखमा, घमण्डले मात्तिनु हुन्न ।।२।।

मानवता, दया र धर्म, कदापि नभुलौं हामीले
हुनेखानेले थुपार्न, गरीबको छाक काटिनु हुन्न ।।३।।

माया स्नेहका लागि, नाम कहलिएका हामी
झीना विवादमा, आत्मिय मनहरू फाटिनु हुन्न ।।४।।

सहज हुँदा त, सक्षमहरूले नै सकुञ्जेल खाए
असहज अवस्थामा, गरीवको खुन चाटिनु हुन्न ।।५।।

 

गजल २

प्यास लाग्यो मलाई चिसो, पानी मन पर्यो
वैंश चढ्यो क्यारे तिम्रो, जवानी मन पर्यो ।।१।।

कति माया गर्छ्यौ तिमी, आफूलाई भन्दा
स्नेहले दिएको तिम्रो, निशानी मन पर्यो ।।२।।

तिम्रो न्यानो अँगालोमा, बाँधिनुको मज्जा
कोमल दिलको प्यारको, खानी मन पर्यो ।।३।।

तिम्रो सुन्दरताको खोइ, कति वर्णन गरूँ
मृग नयनी आँखाहरूको, नानी मन पर्यो ।।४।।

 

सौन्दर्यको भोको विकेश, रुपको भक्त
मुसुक्क हाँसी लजाउने, बानी मन पर्यो ।।५।।

बाबुकाजी सुवाल (विकेश निराशी)
चाँगुनारायण नपा-२, झौखेल, भक्तपुर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here