काठमाडौं – बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल गएका नेपाल वायुसेवा निगमका पाइलटसहित चालक दलका १४ संक्रमित सोल्टी होटलमा सरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत उनीहरूलाई एक ठाउँको आइसोलेसनबाट अर्को ठाउँमा सर्न अनुमति दिएको हो ।
उनीहरूलाई के आधारमा सोल्टी होटलमा सार्न मन्त्रालयले अनुमति दियो भन्नेबारे खुलाइएको छैन । निगमको विमान उडाएका कारण क्वारेन्टाइनमा बस्नुपर्ने चालकसहितका कर्मचारीलाई भने सोल्टी होटलकै क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।


















