कोरोनाको जोखिम कायमै 

65

काठमाडौं – जनस्वास्थ्य विज्ञहरुले लकडाउन अन्त्य भए पनि कोरोना भाइरसको जोखिम कायमै रहेको बताएका छन्।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाले छिमेकी मुलुक भारतमा दिनहुँ संक्रमित बढिरहेकाले नेपालमा पनि संक्रमणको जोखिम कम नभएको जनाए । ‘लकडाउन अन्त्य भए पनि हामी जोखिममुक्त छौँ भन्ने हुँदै होइन। यसलाई हल्का रुपमा लिइयो भने झन् भयावह हुन सक्छ। सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाडमा नजाने र नियमित हातको सरसफाई गर्ने कुरालाई निरन्तरता दिनैपर्छ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले बनाएको लकडाउनपछिको नवसामान्यीकरणका मापदण्ड पालना गर्ने गरी लकडाउन अन्त्य गर्न सकिने सल्लाह सरकारलाई दिइएकाले नै मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गरेको जनाए ।

‘जोखिम कम भएर लकडाउन अन्त्य गरिएको होइन। मानिसहरु कोरोनाले भन्दा भोकले मर्नुपर्ने अवस्था सिर्जना हुनलाग्यो,’ उनले भने, ‘जनजीवन धेरै प्रभावित हुन थालेपछि लकडाउन हटाइएको छ। तर अझै पनि धेरै भीड हुने विद्यालय, स्कुल कलेज, सिनेमा हललगायतका स्थान बन्द नै हुनेछन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल तत्कालै कोरोना भाइरसको संक्रमणमुक्त हुने अवस्था नरहेकाले आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने जनाउँछन् । उनले यसका लागि आम नागरिकले व्यवस्थित र सुरक्षित जीवनशैली बनाउन आवश्यक रहेको जनाए ।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरले पनि कोरोना भाइरसको संक्रमण आउनुअघिको जस्तो सामान्य अवस्था नभएको बताए। हाम्रा वरिपरी अझै पनि कोरोना भाइरस रहिरहेकाले पुनः यसको संक्रमण फैलन सक्न भन्दै अन्य मानिससँग दुरी कायम गर्न, भीडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाछ्यूँ गर्दा कुहिनोले नाकमखु छोप्न उनको सुझाव छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि लकडाउन खुकुलो भएपछिको अवस्थामा झन् बढी सर्तक हुनुपर्ने बताउँछन्। उनले कोरोना भाइरस अझै लामो समयसम्म देखिन सक्ने भएकाले सुरक्षाका उपाय अपनाउँदै सर्तकताका साथ जीवनचर्या सञ्चालन गर्न सुझाव दिए।

स्वास्थ्य मन्त्रालयले संक्रमणबाट जोगिनका लागि ‘कोभिड–१९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७’ समेत ल्याएको छ। लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डहरु प्रयोग गरी समग्र मुलुकलाई सामान्यीकरणतर्फ लैजान मापदण्ड ल्याइएको मन्त्रालयले जनाएको छ।उक्त मापदण्डमा विशेषागरी भौतिक दूरी कायम राख्न, मास्कको प्रयोगमा र सरसफाईमा जोड दिइएको छ।

मापदण्डमा सबै किसिमको जमघट र भेलाहरुमा कम्तिमा २ मिटर वा ६ फिटको दूरी अनिवार्य रुपमा कायम गर्ने, घरबाहिर जाँदा अनिवार्य रुपमा सर्जिकल वा तीन तहको कपडाको मास्क लगाउने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने कुरा उल्लेख छ।

यसका साथै यो समयमा अनावश्यक वस्तु तथा सतहहरु नछुने, अनुहारको टी क्षेत्र अर्थात आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुने, सार्वजनिक स्थलहरुमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्ने, खोक्दा वा हाच्छ्यूँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त कुराको सम्भव नभएमा कुहिनाले छोप्ने, ज्वरो, खोकी तथा श्वासप्रस्वासको समस्या भएका व्यक्तिहरुले सकभर जनसम्पर्कमा नआउने, आउने परेको खण्डमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने लगायतका कुराहरु मापदण्डमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here