काठमाडौं – घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क २.सेनिटाइजर ३. चानचुन नोट पैसा । यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ।
लकडाउन आंशिक खुलेकै अवस्थामा उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ नयाँ संक्रमित थपिएका छन्। अब लकडाउन खोलिएपछि यसको जोखिम झन् थपिनेछ। त्यसैले यात्रा त गर्नुस्, सचेत हुनुस्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा। शेरबहादुर पुनका अनुसार सार्वजनिक यातायात चढ्दा पूर्वसावधानी अपनाउनुपर्ने हुन्छ। उनी भन्छन्, ‘घरबाट निस्कँदा चानचुन लिएर निस्कनु उपयुक्त हुन्छ। ठूलो नोट साट्दाखेरि सहचालकसँग बोल्नु पर्दा वा थुक लागेको नोट छ भने संक्रमणको जोखिम हुन्छ।’
गुट्खालगायत सुर्तीजन्य पदार्थ खाने सहचालक वा यात्री भएको खण्डमा नोटमा थुक भेटिने वा बोल्दा थुकका छिटा पर्ने सम्भावना हुन्छ। धेरैजसो सहचालकको पैसा गन्दा थुक लगाउने पुरानो बानी छ। ‘सहचालकले यात्रीसँग कराउन थाले पनि जोखिम हुन्छ। मास्क लगाउने र चुप्प लागेर चानचुन पैसा लिनु बुद्धिमानी हुन्छ’, डा. पुनले भने।
विगतमा झैं यात्रुले भाडामा किचकिच गर्ने, झ्यालबाट थुक्ने, जहाँ पायो त्यहीँ बस्ने, डन्डी वा सिटमा जहाँतहीँ छुने कार्य नगर्न डा। पुनको आग्रह छ। सकेसम्म यात्रु र सहचालकबीच पनि धेरै नबोल्दा नै उपयुक्त हुने डा। उनको सल्लाह छ। सहचालक दिनभरि धेरै व्यक्तिसँग कारोबार गर्नुपर्ने हुँदा संक्रमणको उच्च जोखिममा रहने चिकित्सकहरू बताउँछन्।
सरकारले सार्वजनिक यातायात चलाउने निर्णय गरेपछि खुसीसँगै चिन्ता बढेको छ। यातायात व्यवस्था विभागका महानिर्देशकका गोगनबहादुर हमालका अनुसार, साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुनेछन्। मन्त्रिपरिषद्को निर्णयअनुसार, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने उनले जानकारी दिए।
विभागले पनि यातायात सञ्चालनसम्बन्धी सुरक्षात्मक निर्देशिका बनाएको छ। उनले भने, ‘चालक र सहचालकले मास्क, सेनिटाइजर, पञ्जालगायत सुरक्षात्मक उपाय अपनाएरै यातायात सञ्चालन गर्नुपर्ने हुन्छ। यात्रुले पनि सजग हुनुपर्छ। सावधानी अपनाउनुपर्छ।’ भाडा भने यसअघि भन्दा ५० प्रतिशत बढी तिर्नुपर्ने उनले जानकारी दिए। यात्रुले सिटमा बस्दा पनि कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्छ। यो समाचार आाजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


















