इरानमा युवा कुस्ती खेलाडीलाई मृत्युदण्ड

82

एजेन्सी –  इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत नविदलाई लिएर दयाको याचना गर्नुभएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार नविदलाई इरानको दक्षिणी शहर शिराजमा झुण्डयाएर मृत्युदण्ड दिइएको छ । नविदले आफूलाई घटनाको जिम्मेवारी स्वीकार्न यातना दिइएको उल्लेख गर्नुभएको छ । उक्त घटनामै उहाँका भाई वाहिदलाई ५४ वर्ष र हबिबलाई २७ वर्ष जेलको सजाय सुनाइएको छ । नविद इरानमा कुस्तीका राष्ट्रिय विजेता खेलाडी हुनुहुन्थ्यो ।

नविदले जेल बसाइको क्रममा गर्नुभएको कुराकानीको अडियो समेत सार्वजनिक भएको छ । जसमा उहाँले आफूलाई यातना दिइएको जनाउनुभएको छ ।

सन् २०१८ मा सरकार विरोधी प्रदर्शनको क्रममा कुस्ती खेलाडी २७ वर्षीय नविद अफकरीले एक जना सुरक्षागार्डको हत्या गरेको अभियोगमा मृत्युदण्ड दिइएको हो । विश्व खेलाडी संघले सरकार विरोधी प्रदर्शनको क्रममा भएको घटनालाई लिएर खेलाडीलाई लक्षित गर्नु दुर्भाग्य रहेको भन्दै सजाय रोक्न अपील गरेको थियो । न्विदको सजाय रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले समेत आग्रह गरेको थियो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here