निजी स्कुलका शिक्षकहरूद्वारा धर्नासहित आन्दोलनका कार्यक्रम घोषणा

75
काठमाडौं – नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा गरेको कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण पत्र दिने भएको छ ।

यस्तै, ११–१३ असोजसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम् दिने र १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने इस्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिए ।

इस्टुले १८ असोजमा देशभरीका प्रमुख शहरहरूमा विरोध र्‍याली र कोणसभा गर्ने कार्यक्रम तय गरेको छ ।

देशभरीका करिब दुई लाख शिक्षक कर्मचारी मध्ये ९५ प्रतिशतले वैशाखयता पूरा तलब पाएका छैनन् । अध्यक्ष थापा भन्छन्, ‘यो शैक्षिक सत्रको वैशाखबाट पूरै तलब पाउने शिक्षक–कर्मचारीहरू पाँच पनि छैनन् ।’

इस्टुका अनुसार कतिपय विद्यालयहरूले शिक्षक–कर्मचारीहरूलाई अघिल्लो शैक्षिक सत्रको माघदेखि नै तलब भत्ता दिएका छैनन् । गत सालको चैत महिनासम्मको तलब नपाउने शिक्षक—कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा छन् ।

करिब तीन हजार शिक्षक कर्मचारी निश्कासनमा परिसकेको थापाले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का बेला अतिरिक्त क्रियाकलाप पढाउने शिक्षक, कर्मचारी, करार तथा आंशिक शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकहरू बढी मारमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here