त्यस कारबम आक्रमणमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो भने अरु करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधाराण नागरिकहरुको भिडभाड रहेको मौका पारेर आत्मघातीहरुले नान्गाहार प्रान्तको जिल्ला प्रशासनिक कार्यालयमा सो बम हमला भएको थियो ।
त्यस क्रममा सरकारी काम लिन सो कार्यालयमा लाममा बसेका सर्वसाधारणको ज्यान गएको थियो । घाइते हुने पनि सेवा लिन त्यहाँ पुगेका सर्वसाधारण थिए ।यसरी आफ्ना कामका लागि सरकारी कार्यालयमा पुगेका सर्वसाधारण नागरिकको हत्या गर्नु जघन्य अपराध हो भन्दै महासचिव गुटर्रेसले त्यस कार्यको कडा शब्दमा निन्दा गरेका छन् ।
यसका साथै उनले यस आक्रमणमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुप्रति समवेदना व्यक्त गर्दै निधन भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । महासचिव गुटर्रेसले सो बम हमलामा परी घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्या लाभको कामना गर्नुभएको पनि उनका प्रवक्ता डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।


















