नेपाल बैंकले कमायो तीन महिनामा ५५ करोड नाफा

51

काठमाडौं – नेपाल बैंकले पहिलो त्रैमासमा ५५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको साउन, भदौ र असोज महिनामा आधारित त्रैमासिक रिपोर्ट अनुसार नेपाल बैंकले यो अवधिमा कुल ५५ करोड ४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले अघिल्लो वर्ष सोही अवधिमा ५८ करोड १८ लाख २६ हजार रुपैयाँ कमाएको थियो ।

यो वर्ष नाफामा करिब ३ करोड १४ लाखको गिरावट देखिएको छ । यो करिब ५.३९ प्रतिशतको गिरावट हो । उक्त नाफामध्ये १९ करोड ६४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको जनाइएको छ । खुद नाफामा गिरावट देखिए पनि यो अवधिमा करअघिको नाफामा भने उल्लेख्य रुपमा बढेको छ । अघिल्लो वर्ष ६८ करोड ६० लाख रुपैयाँ रहेको करअघिको नाफा ७८ करोड १३ लाख पुगेको हो । यो करिब १३.८९ प्रतिशतको वृद्धि हो । यो वर्ष बैंकले तिर्ने करको आकार बढेपछि नाफामा गिरावट देखिएको हो । नेपाल बैंकले यो वर्ष आफ्नो व्यवसायको आकारमा सामान्य वृद्धि गरेको छ । निक्षेप संकलन १ खर्ब ४२ अर्बबाट बढेर १ खर्ब ४५ अर्ब तथा कर्जा लगानी १ खर्ब ४ अर्बबाट बढेर १ खर्ब ७ अर्ब पुगेको हो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब ३२ करोड रहेकोमा यो वर्ष १ अर्ब ४८ करोड पुगेको छ ।

कोभिड–१९ को संक्रमण जोखिमका बाबजुद कर्मचारी खर्चमा ६७ करोडबाट ६५ करोडमा झरेको छ । अन्य सञ्चालन खर्च १९ करोडबाट १७ करोडमा झरेको छ । बैंकको पुँजीकोष अनुपात १७.०३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०२ प्रतिशत, कष्ट अफ फण्ड ३.९७ प्रतिशत, सीसीडी अनुपात ६६.५४ प्रतिशत, आधारदर ६.८१ प्रतिशत र ब्याजको स्प्रेडदर ४.३८ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here