काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन विवादमा सरकार र राष्ट्रपति कार्यालयसँग कारण माग गर्दै पुस २२ गतेदेखि निरन्तर सुनुवाइका लागि अर्को पेसीसमेत तय गरिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबार आफूसहित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी संलग्न संवैधानिक इजलास गठन गरेका थिए। न्यायपरिषद्ले बनाएको रोस्टरबाट छानेर प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा चार जना न्यायाधीश तोकेका हुन्। उक्त इजलासमा यसअघि रहँदै आएका न्यायाधीश तेजबहादुर केसी र ईश्वरप्रसाद खतिवडालाई सामेल गरिएको छैन। नेकपा नेता वामदेव गौतमको राष्ट्रियसभामा मनोनयविरुद्ध परेको रिटमा खतिवडाले मनोनयनको विपक्षमा राय बुझाएका थिए। इजलास गठन प्रक्रियालाई लिएर रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आपत्ति जनाउँदै रोक्ने प्रयास गरे पनि सुनुवाइ भने प्रभावित भएन।
सर्वोच्चले इजलासलाई सहयोगीका रूपमा नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च बारबाट दुई जना वरिष्ठ अधिवक्ता र अधिवक्तासहित ‘एमिकस क्युरी’ झिकाउनसमेत आदेश दिएको छ। सार्वजनिक सरोकार निहित गम्भीर संवैधानिक प्रश्नको निरुपणका लागि सर्वोच्चले एमिकस क्युरी झिकाउने अभ्यास छ। एमिकस क्युरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन र नजिर, संवैधानिक प्रावधान र लोकतन्त्रको मर्म र एवं भावनासहितको निष्पक्ष, स्वतन्त्र व्याख्या गरी न्यायालयलाई निकासमा मद्दत गर्ने मान्यता छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट


















