झलनाथ खनाललाई प्रम बनाऊ !

92

– नारायण शर्मा

सत्ताधारी नेकपाका शक्तिशाली नेताहरुलाई साँच्चिकै देश, जनता र पार्टी-क्रान्तिको चिन्ता छ भने अहिलेलाई झलनाथ खनाललाई प्रधानमन्त्री बनाओ र बदबाट बदतर बन्दै गएको नेपाल र नेपालीको स्थितिमा सुधार गरो !

झलनाथलाई प्रधानमन्त्री बनाएमा देशको र पार्टीको बिग्रदो आजको अवस्थामा सुधार आउने सात कारणहरु निम्नानुसार रहेका छन् :-

१. आज गुटवन्दीको राजनीतिले गर्दा पनि  पार्टी, पद्धति र देश बिग्रेको छ । यो बेला गुटका नेताहरुले आफ्नोढ ध्यान गुटमा केन्दित गर्दै आएको र जो गरेको काम पनि आआफ्नै गुटको लागि भएको र हुने हुनाले देश, जनता र सिङ्गो पार्टीको हित हुन सकेको छैन । त्यसैले गुटविहीन शीर्ष पंक्तिकै नेता झलनाथलाई प्रधानमन्त्री बनाउंदा कुनै एउटा  गुटले होइन, सिङ्गो पार्टीले र समग्र देशले फाइदा लिनसक्ने र काँचुली फेर्न सक्ने सम्भावना प्रबल छ !

२. देश विग्रेको भ्रष्टाचारले हो !  पदमा, प्रस्तावमा र चर्चामा रहेका अन्य नेताका तुलनामा बढी स्वच्छ  छवि भएका झलनाथलाई प्रधानमन्त्री बनाउँदा आज कम्युनिस्टको परिचय कमाउनिष्ट, कामरेडको परिचय दामरेड, वामपन्थीको परिचय हामपन्थी र माओवादीको परिचय खाओवादी बनिरहेको अवस्थामा भ्रष्टाचार नियन्त्रण सर्वाधिक जरुरी महत्वको आवश्यकता भएको छ र यो भ्रष्टाचारको महारोग नियन्त्रण सुनिश्चित हुने टड्कारो सम्भावना  छ ! साँच्चै आफूले भ्रष्टाचार नगर्नेले अरुहरुलाई भ्रष्टाचार गर्न दिएर आफू र आफ्नो नेतृत्वको सरकार बदनाम हुन पक्कै दिंदैन ।

३. नेपाललाई बिगार्ने मुख्य बाह्य शक्तिराष्ट्र इन्डिया हो ! संसारलाई बिगार्ने मुख्य बाह्य शक्तिराष्ट्र अमेरिका हो । यी दुवै शक्ति गठबन्धन गरेर MCC मार्फत थप शोषण-दमनको लागि नेपालमा प्रवेश गर्दैछन् ! यही सही बुझाइ झलनाथमा भएकाले त इन्डिया-अमेरिका परस्त पार्टी र त्यतिबेलाको हाम्रै पार्टीका नेताहरुले समेत उहाँलाई प्रधानमन्त्री बनाउँदा आपत्ति जनाएका थिए र इन्डियाले पनि इन्डिया भिजिटको निम्तो दिएन र नौ महिनामै हटाइएको थियो ! जब कि इण्डियाले अरु सबैलाई प्रधानमन्त्री हुँनेबित्तिकै निम्तो दिई भ्रमण गराउँथ्यो ! हाल  इन्डियासङ्गबाट हाम्रा मिचिएका भूमिहरु फिर्ता लिनको लागि हाल भैरहेको प्रयासलाई बढी सबल, सफल र सार्थक बनाउनको लागि  अरु सम्भावित नेताका तुलनामा बढी देशभक्त भएको नेता प्रधानमन्त्री हुँदा भूमि फिर्ता गराउन र अन्य हस्तक्षेपहरुबाट देशलाई बचाउन सकिन्छ !

४. आज देश मात्र होइन, पार्टी र क्रान्ति धरासायी भएको शीर्ष नेता-शासकहरुमा सही विचार र सो अनुसारको आचार; यथेष्ट अध्ययन, अनुसन्धान र ज्ञान अनि त्यही अनुसारको व्यवहार, समर्पण र स्वाभिमान तथा न्याय, समानता र स्वाधीनताको नीति, नारा र निर्णय त लिने तर कार्यान्वयन नगर्ने आदि कारणहरुले हो ! यी मामलामा झलनाथ नै तुलनात्मक रुपले  योग्य र उपयुक्त हुनुहुन्छ ! त्यसैले उहाँलाई सच्चा कार्यकारी नेतृत्व दिंदा देश, जनता, पार्टी र क्रान्तिको आजको दुरावस्थामा सुधार हुन सक्छ !

५. MCC नेपालको लागि निकट भविष्यको सर्वाधिक भयावह समस्या हो ! यसलाई गहिरोसङ्ग बुझेर विपक्षमा दृढतापूर्वक उभिने शीर्ष नेतृत्व र व्यक्तित्व झलनाथ खनाल नै हो ! त्यसैले उहाँलाई देशको नेतृत्व दिए उहाँले नै MCC बारे निर्णय गर्दा देशको राष्ट्रिय स्वाधीनता र हितको पक्षमा सापेक्षित रुपले सही निर्णय लिन उहाँको हालसम्मका विचार, बचनबद्धता र व्यवहारका कारणले मात्र होइन, नैतिक रुपले पनि सक्ने देखिन्छ, जस्ले गर्दा MCC मार्फत हुने अमेरिकी हस्तक्षेप जस्तो आसन्न भयावह राष्ट्रिय आपतबाट देश र जनतालाई जोगाउन सकिन्छ  ।

६.  नेताहरुका रुखा र चर्का भाषणले अनि ठुला र झुठा आश्वासनले जनता वाक्क-दिक्क र निरास-उदास भएका छन् र हार-हरेस खाने स्थितिमा पुगेका छन् । त्यसैले देशमा त्यस्ता बोली र व्यक्तिको बढी आलोचना पनि भएको छ ! तसर्थ अन्य शीर्षस्थ नेताहरुको तुलनामा झलनाथ नै मीठो मसिनो बोल्ने र ठुला र झुठा कुरा नगर्ने नेता भएकाले उहाँलाई प्रमुख कार्यकारी जिम्मा दिंदा कुराभन्दा काम गर्ने र भाषणभन्दा सुशासन गर्ने दिशामा केही न केही सुधार अवश्यै हुन सक्छ !

७. नेकपाका प्रधानमन्त्री पदका अन्य आकाङ्क्षी र दावेदार नेताहरुमध्ये सापेक्षितरुपले सिनियर, सक्षम, स्वच्छ, शिष्ट, सालीन, सही, स्वाभिमानी, समानताप्रेमी र संसदबाट शान्तिपूर्ण र संवैधानिक रुपले समाजवाद प्राप्तिको सत्मार्गमा संघर्षरत मिसनमा प्रतिबद्ध एक भिजनरी व्यक्तिव र नेतृत्व झलनाथ खनाल नै भएकाले उहाँलाई पार्टी-राज्यको नेतृत्व दिएर बाँकी नेताहरुले सहयोग गर्नु भएमा पार्टी र राज्यमा उल्लेखनीय सकारात्मक परिवर्तन आउने बढी सम्भावना छ ! अन्यथा रामेको स्थानमा सम्भावित श्यामे वा चामे आएर सकारात्मक परिवर्तनका दिशामा केही तात्विक फरक पर्ने छैन, बरु झन् विग्रने अवस्था आउनसक्ने सम्भावनालाई नकार्न सकिन्न !

आगे केपी कामरेड, प्रचण्ड कामरेड, माधव कामरेड लगायत पार्टीका सचिवालय सदस्य र स्थायी सदस्य कामरेडहरुको मर्जी !

– (लेखक सत्तासीन नेकपाका केनद्रीय सदस्य हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here