– निमकान्त पाण्डे
प्रचण्ड र माधव नेपालले सडकबाट गजवको सन्देश दिए—‘हामी यहाँ छौं’ । सडकमा पलेटी कसेर बसेका प्रचण्ड—माधवसँगै झलनाथ र नारायणकाजी पनि देखिएका थिए । चारै जनाका छातीमा लेखिएका थिए—‘हामी यहाँ छौं ! सबैलाई थाहा थियो प्रचण्ड—माधव गूटका चारजना मात्रै होइन हजारौं नेता—कार्यकर्ताहरु त्यस दिन सडकमा उत्रिदै छन् । तर चारजना नेताहरुलाई कसैले खोजी नगरिरहेको अवस्थामा पनि ‘हामी यहाँ छौं’ भन्ने जानकारी गराएर सडकमा भयभीत अनुहार बनाउँदै बसेको देखियो । प्रचण्डले जीवनमा पहिलो पटक यो अवस्थाको अनुभव गर्नु परेको होला !
राजतन्त्र ढालेर गणतन्त्र ल्यायौं, गणतन्त्र ल्याउनमा आफ्नो महत्वपूर्ण योगदान रह्यो भनेर नथाक्ने राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री केपी ओलीले यो गणतन्त्र होइन मेरो तन्त्र हो, अर्थात यो ओलीतन्त्र हो भने जस्तै गरी सन्देश दिन सफल भएका छन् । ओलीले सबै राजनीतिक दलहरुलाई किनारामा पु¥याएर शक्ति केन्द्रीत गरेका छन् । ओलीले भन्ने गर्थे बयलगाढामा चढेर अमेरिका पुग्न सकिदैन । सडकमा राजतन्त्रका विरुद्ध र गणतन्त्रका पक्षमा नारा लागिरहेका बेला सडक आन्दोलनको कमजोर प्रस्तुतीलाई संकेत गर्दै ओलीले भन्ने गरेको बयलगाढा चढेर अमेरिका पुग्न सकिदैन भन्ने प्रसंग ओलीलाई गणतन्त्र विरोधीको आरोप लगाउने थेगो बनिरहेको छ । ओलीले आपूm के हो भन्ने कुरा राम्रैसँग सबैले बुझ्ने गरी व्यवहारबाटै बयलगाढाबाट अमेरिका पुगिदैन भन्ने सन्देश दिन भ्याएका छन् । प्रचण्ड र माधव नेपाललाई सडकमा पलेटी कसेर बस्न बाध्य बनाएर ओलीले गणतन्त्रको असलियत देखाइदिएका छन् पनि भन्न थालिएको छ ।
अहिले गणतन्त्रको जग हल्लिरहेको महसुस राजनीतिक दलका नेताहरुले गरिरहेका छन् । सडकमा राजावादीहरुले गणतन्त्रका विरुद्ध नारा लगाइरहेका अवस्थामा प्रधानमन्त्री ओलीले संसदबादीहरुले भन्ने गरेको गणतन्त्रको सक्कली स्वरुप राजतन्त्र भन्दा फरक छैन भन्ने रुपमा देखाएका छन् । सत्तासीन पार्टी नेकपाका अध्यक्षसमेत रहेका पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले भने गणतन्त्रवादीहरुलाई खुइल्याउने काम राजावादीहरुबाट भइरहेको आरोप लगाउँदै छन् ।
संयोग नै भन्नु पर्छ यता ओलीले गणतन्त्रलाई ओलीतन्त्रका रुपमा रुपान्तरित गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र देश दौडाहामा निस्किएका छन् । पूर्वाञ्चलतर्पm भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र उतैबाट भारततर्पmको भ्रमणमा जाने समाचार पनि बाहिरिएको छ । ठीक यसैबेला प्रधानमन्त्री केपी ओली पनि भारत भ्रमणमा जाने चर्चा चलेको छ । भारतले नेपालबाट अव के प्राप्त गर्ने हो ? कस्तो किसिमको मोलमोलाइमा कसले शक्ति प्राप्त गर्ने हो भन्ने आशंका राजनीतिक वृत्तमा बढाएको छ ।
सडकमा राजावादीहरुको प्रदर्शन बढ्न थालेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र संकटमा परेको भनेर बालुवाटारमै सर्वदलीय बैठक बोलाएका थिए । त्यसैले ओली गणतन्त्रवादी हुन् भन्ने कुराको सन्देश उनले दिएका थिए भन्न सकिन्छ । परन्तु सर्वदलीय बैठक बोलाएको एक साता नबित्दै आपूmले नै राजाको भन्दा निरंकुश कदम चालेर असम्बैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्नुका साथै सम्बैधानिक निकायहरुमा आफ्ना निकटहरुलाई नियुक्ति गरे राजाकै शैलीमा । राजाकै शैलीमा सडकका मान्छेहरुलाई टपक्क टिपेर टिका लगाएर मंत्री बनाईदिएका छन् । राजावादीहरुको सडक प्रदर्शनप्रति आक्रोश व्यक्त गर्दै पूर्वराजालाई नागार्जुनबाट निकालिदिने चेतावनी दिने काम समेत नेताहरुले गरिरहेका थिए, तर पूर्वराजा ज्ञानेन्द्रले दिएको गणतन्त्र ओलीले हरण गरिरहेको अवस्थातर्पm दलका नेताहरुले खवरदारी गर्ने ठाउँ पाएका छैनन् । राजाको स्थानबाट सामान्य नागरिक बनिसकेका पूर्व राजाको भूतले गणतन्त्रवादी नेताहरुलाई तर्साइरहेको छ भन्दा फरक नपर्ला ।
२ सय ४० बर्ष पुरानो सामन्ती राजतंत्र बिघटन हुनुमा सबै दलका नेताहरुले आ–आफ्नै योगदानको दाबी गरिरहेका छन् । तर आज एउटा केपी ओलीको शक्तिका बिरुद्द सडकमा पछारिन पुगेका छन् बिचराहरु ! माओबादी सेनालाई शिबिरमा थुनेर बिदेशीहरुको आडमा राजतन्त्र विघटन भइसकेपछि राजनीतिक दलहरुले जनताका चाहनालाई सम्बोधन गर्न सकेनन् । जनताका चाहनाहरुलाई सम्बोधन गर्नेतर्पm भन्दा आफ्ना परिवारका सदस्यहरुलाई नियुक्ति दिलाउनेतर्पm दलका नेताहरुको ध्यानाकर्षण भयो । यस कार्यमा नेताहरुले सफलता हासिल गरेका छन् पनि । जे गर्ने चाहना हुन्छ त्यो गर्न सकिन्छ भन्ने उदाहरण यो पनि हो । देशमा व्याप्त वेथीति र भ्रष्टाचारप्रति नेताहरुको मौनताले देशको अर्थ व्यवस्था नै अस्तव्यस्त बन्न पुगेको छ । नेताहरुकै संरक्षणमा भइरहेका गैरकानूनी भ्रष्ट कामहरुले राजनीति नै बदनाम भइरहेको छ । राजतन्त्र विघटन भएपछि गणतन्त्र मात्र नभएर कम्युनिष्टको आवरणमा सत्तामा पुगेकाहरुले गर्नुपर्ने काम नगरेपछि गणतन्त्रको माला जपेर जनताले नेताहरुलाई परिक्रमा गरिरहनु पर्ने अवस्था कतिञ्जेल रहने ?
विगत सात दशकको अवधिलाई फर्किएर हेर्ने हो भने एउटा व्यवस्थाबाट असन्तुष्ट भएका जनताले अर्काे व्यवस्था ल्याउन जस्तोसुकै संघर्ष गर्न पनि पछि परेका छैनन । २००७ सालमा राणा विरुद्धको आन्दोलन होस् वा २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलन नै किन नहोस् । त्यस्तै २०५२ सालबाट सुरु भएको सामन्ती राजतन्त्रात्मक व्यवस्था विरुद्धको सशस्त्र संघर्ष होस् वा २०६२÷०६३ को जनआन्दोलन नै किन नहोस्, जनतालाई शासन व्यवस्थाप्रति निराशा र आक्रोश उत्पन्न भएपछि व्यवस्था परिवर्तनको चाहनामा आन्दोलनमा दिलोज्यान दिएर जनताले सहभागिता जनाए । लोकतन्त्रको आवरणमा सजिएको गणतन्त्रमा कम्युनिष्टहरु सत्तामा पुगेका बेला साम्राज्यवाद निर्देशित शासन व्यवस्था चल्छ भन्ने पूर्वानुमान गर्न जनताले सक्ने कुरा भएन नै !
गणतन्त्रमा जनताले राजनीतिक दलहरुबाट सन्तोषजनक नतिजा प्राप्त गर्न नसकेपछि विस्तारै जनताबाट असन्तुष्टिको आवाज शान्तिपूर्ण प्रकृया हुँदै हिंसात्मक र विस्फोटक बन्दै गइरहेको छ । जनताले एकजना व्यक्ति सामन्तवादको अवशेषका रुपमा रहन सक्दैन भन्ने निष्कर्ष लिएरै राजतन्त्रको अन्त्य गरेका हुन्, तर प्रधानमन्त्री केपी ओलीले सामन्तवादको अवशेष अभैm बाँकी रहेको सन्देश दिएका छन् ।
अहिले हजारौँको संख्यामा सामन्तवादका अवशेषहरु गाउँ—गाउँमा देखापरिरहेका छन् । अरु त अरु नै भए, गाउँपालिकाका जनप्रतिनिधिहरु समेत दलीय आवद्धताका कारण जनताबाट टाढिदैँ गएका छन् । आफ्नो पार्टी निकटकाहरु बाहेक अरु जनता नै हैनन् भन्ने सोचका साथ राजनीति गर्ने गाउँपालिकाका जनप्रतिनिधिहरु नै सामन्तवादका अवशेषका रुपमा टाउको उठाइरहेका छन् । जसले गर्दा जनतामा संसदीय गणतन्त्रप्रति तीव्र आक्रोश पैदा हुनुका साथै ‘राजा आउ, देश बचाउ’ भन्ने नारामा जनता रमाउन थालेका छन् ।
गणतन्त्रको माला जप्ने राजनीतिक दलहरुले जनताले महसुस गर्ने गरी सिन्को भाँच्न सकिरहेका छैनन्, कम्युनिष्ट समर्थक बहुसंख्यक जनताको महत्वपूर्ण जनमत प्राप्त गरेर शक्तिशाली सरकार बन्दा पनि जनताले राज्यको जनपक्षीयता महसुस गर्न सकेनन्, अनियमितता, भ्रष्टाचार, कुरीति र कूसंस्कारले मौलिकतालाई नै चुनौति दिने र धर्म, संस्कृति र परम्परालाई समेत राज्यकै तहबाट समाप्त पार्दै आयातित धर्मलाई फलाउने फुलाउने र विस्तार गर्नेतर्फ गतिविधि उन्मुख भएपछि जनतामा आक्रोश पैदा हुनु स्वाभाविकै हो । जनतामा असन्तुष्टि बढाइएपछि शासन व्यवस्थाप्रति जनताको आस्था रहने कुरा हुँदैन । आज गणतन्त्रवादी भनेर आपूmलाई दावी गर्ने नेताहरुले जनतामा असन्तुष्टि किन बढ्यो भन्नेतर्पm बुझ्ने प्रयास गरेनन् । सत्तामा भागबण्डा पुगेन भन्ने सवालमा आफ्ना असन्तुष्टिहरुलाई महत्व दिने बाहेक नेताहरुले अरु केही काम गरेर देखाउन सकेनन् । अहिले सत्तासीन दलका नेताहरु यस्तै भागबण्डा नमिलेर नै विभाजित भएका छन् भन्ने कुरा जनताले बुझेका छन् । प्रतिनिधिसभाको विघटन र पुनस्र्थापनाका लागि सडक आन्दोलन दुवैतर्पm जनतालाई चासो देखिएको छैन ।
जनताको जीवनस्तर माथि उठाउछौैं भनेर राजनीतिमा लागेका नेताहरुको जीवनशैलीमा कायापलट हुँदा समेत जनताको अवस्था झनै दयनीय बन्दै गएको छ, किन ? जनतालाई अव नत चुनावसँग सरोकार हुनेछ नत संसद पुनस्र्थापनासँग । चुनाव र संसद पुनस्र्थापनाले जनताका समस्या समाधान हुने छैनन् । देशमा व्याप्त भ्रष्टाचार, बलात्कार, हत्या र हिंसाका घटनाहरुमा कमी आउने छैनन् । जनताले न्याय पाउन र आफ्ना गुनासा राख्न विद्रोही शक्तिको खोजी गर्नु पर्ने अवस्था अहिले सृजना भइरहेको छ । गाउँ—गाउँमा सिंहदरबार भनिएपनि अहिले गाउँगाउँमा छोटे राजाहरुको उदय भएको छ । हातमुख जोर्न समस्यामा परिरहेका जनतामाथि करको भार थोपरिएको छ । यस्तो अवस्थाबाट जनताले उन्मुक्ति चाहेका छन् । संसदवादबाट जनताका समस्याहरुको समाधान हुन सक्दैन भन्ने कुरा दुई तिहाई बहुमत नजिकको कम्युनिष्ट पार्टीको सरकारको कार्यशैलीबाट स्पष्ट भइसकेको छ, त्यसैले नै अव यस व्यवस्थाको विकल्प सोच्न जरुरी छ, आगे सबैलाई चेतना भया !


















