काठमाडाैं । वन तथा वातावरण मन्त्री प्रेम आलेले वनलाई उद्यमसँग जोडेर रोजगारी वृद्धि गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको १०औं महाधिवेशन तथा २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले वनलाई उद्यमसँग जोडेर रोजगारी वृद्धि गरिने भएकाे छ।
मन्त्री आलेले देशको अर्थतन्त्र चलायमान गर्न वनजन्य उद्यमको विकासबाट रोजगारी वृद्धि गर्ने र अर्थतन्त्र उकास्ने नीति रहेको बताए । “वन समृद्धिको आधार हो वनलाई हरित रोजगारीसँग जोडेर कसरी अगाडि बढ्ने भन्ने योजना लिएका छौ,” उनले भने, “विकासका लागि वन भन्ने नाराका साथ अगाडि बढेका छौं, वनमा आधारित कच्चा पदार्थ आपूर्ति व्यवस्थापनमा सहजिकरण पनि गर्ने छौं ।”
वनबाट उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार सहजिकरण गर्दै अगाडि बढ्ने मन्त्री आलेको भनाइ छ । उनले वैज्ञानिक वन व्यवस्थापनमा व्यापाक अनियममितता भएपछि कार्यविधि नै खारेज गरिएको दावी गरे । नयाँ वनको व्यवस्थापनको पद्दती कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको अवगत गराए ।
वनजन्य उद्यममा व्यवसायीहरुको लगानी सुनिश्चित गर्नका लागि सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको मन्त्री आलेले जनाए । उनले निजी आवधिमा भएका रुख बिरुवा कटानका लागि पनि सहज कानुनी व्यवस्था गनका लागि पहल गरिने उल्लेख गरे ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले कटान भइसकेको काठको प्रदेश सरकारबाट लगत ल्याउने प्रक्रिया भइरहेको भन्दै चाँडै नै जंगलको काठ संकलन, ओसारपसार तथा बिक्री वितरणका लागि बाटो खुला हुने बताएका छन् । उनले वनलाई आम्दानी बढाउने स्रोतको रुपमा अगाडि बढ्नुपर्ने जनाएका थिए ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले गत जेठ १५ गते काठ ओसारपोसारमा लगाएको प्रतिबन्दका कारण काठजन्य उद्योगहरु धरासयी बनेको र बजारमा काठको अभाव सिर्जना भएको भन्दै चाँडैं काठ बिक्री वितरणका सहज व्यवस्था गर्न अनुरोध गरे । “कोभिडले भन्दा पनि सरकराले लगाएको प्रतिवन्धले कच्चा पदार्थ अभाव भयो, हामीले राजस्व तिरेर पनि काठ जंगलमै सडेर गए,” उनले भने, “चाँडोभन्दा चाँडो सरकारको ध्यान जाओस्, वनजन्य उद्योगमा लगानीमैत्री वातावरण सिर्जना होस् ।”
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सिंगो वन क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताइन् ।
“वनलाई संरक्षण मात्रै गरेर हुँदैन यसलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्छ,” उनले भनिन्, “वन स्रोत सही रुपमा सदुपयोग हुन सकेको छैन, वनलाई सुशासन बनाउनु जरुरी छ ।”
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समृद्धिको सुत्रलाई अगांलेर वनको व्यवस्थापन अगाडि बढाउनु्पर्नेमा जाेड दिए । काराेबार डेल्लीबाट

















