दाङ । लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो।
जिल्लाको गढवा गाउँपालिका–५ ले मदुरी गरेर छाक टार्नका लागि लकडाउन सुरु भएलगत्तै एक चरणमा राहत वितरण गर्यो। दोस्रो चरणमा यो वडाले पुनः राहत वितरण गर्नका लागि चामल, दाल, नुन, तेल खरिद गर्यो। जापानको चामलसहित खाद्यान्न खरिद गरेको वडाले दोस्रो चरणमा उक्त राहत वितरण गरेन। वडामा राहतका लागि माग गर्न जानेको भिड नै हुन्थ्यो।
मजदुरी बन्द भएर साँझ बिहान हातमुख जोड्नै समस्या भएका परिवार राहात माग्दै वडा कार्यालय नियमित पुगे। ‘वडा कार्यालयले राहत बाड्ने भनेर चामल, दाल, नुनलगायत खाद्यान्न खरिद गरेर त ल्यायो, तर हामीहरूलाई दिएन,’ एक स्थानीयले भने, ‘हामीहरूकै लागि भनेर ल्याइएको खाद्यान्न नदिँदा भोकै बस्नु पर्ने अवस्था आयो यो भन्दा पीडा हाम्रो लागि अरू के होला ?’
वडाध्यक्ष भण्डारीका अनुसार खाद्यान्नका लागि धेरै बढी माग आउने भएका कारण गाउँपालिकाले नै खाद्यान्न वितरण रोक्न भनेको थियो। ‘राहत वितरणमा समस्या छ भने नबाड्नुस् भनेर गाउँपालिकालेनै भनेको थियो,’ उनले भने, ‘त्यसै कारण राहात वितरणको काम रोकेका हौं।’
गत वैशाखमा खरिद गरेर ल्याइएको उक्त खाद्यान्न वडा कार्यालयकै स्टोर कक्षमा राखियो। करिब वर्षदिन पुग्नै लाग्दा चामलमा किरा पर्न थाले। दालसहित म्याद गुज्रिएका तेल नष्ट गरियो। ‘२० किलो जति दालमा किरा पर्न थाले, खान लायक नहुने भएपछि नष्ट गरिएको हो,’ वडा कार्यालयका प्राविधिक केशव आचार्यले भने, तेल पनि केही नष्ट गरिएको छ।’
वर्षदिन पहिले राहतका लागि खरिद भएको करिब ५० बोरा ९प्रतिबोरा २५ किलो० चामल भने अहिले पनि वडा कार्यालयमै स्टोर गरेर राखिएको छ। एक वर्ष अगाडि खरिद गरेर स्टोरमा राखिएको चामल अब विपद्मा वडावासीलाई उपलब्ध गराउनका लागि राखिएको वडाध्यक्ष भण्डारीले बताए। नागरिक दैनिकबाट


















