काठमाडौं । नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक गरेका छन्। पूर्व राष्ट्रिय जनता पार्टी नेपालका नेताले भने बिहीबार नै छुट्टै बैठक गरेका थिए।
बालकुमारीमा आयोजित भेलामा पूर्व समाजवादीका नेताहरूलाई मात्र बोलाइएको पूर्व समाजवादीका सचिव इस्तियाक राईले बताए। ‘बिहीबार पूर्व राजपाले भेला बोलायो भन्ने सुन्यौं। आज हामीले बैठक बोलायौं’, राईले भने, ‘हामीले बोलाएको बैठक समायोजनको विषयमा केन्द्रित थियो।’ सो बैठकमा पूर्व समाजवादीका सबै शीर्ष नेताको उपस्थिति थियो।
इन्द्रेणी फुडल्यान्डमा पूर्व राजपा नेताहरूको भेला बोलाइएको पूर्व राजपाका महासचिव राजीव झाले स्वीकार गरे। जसपाका अधिकांश कार्यकर्ताले यसपटक पार्टीले नगदमा सहमति गरोस् भन्ने चाहेको उनले बताए। ‘हामीले वर्तमान प्रधानमन्त्रीसँग सहमति गर्यौं भने हाम्रो माग तत्काल पूरा हुन्छ तर माओवादी केन्द्रसँग सहमति गर्यौं भने उधारोमा सहमति हुन्छ’, झाले भने, ‘त्यसैले यसपटक उधारोमा होइन, नगदमा सहमति होस् भन्ने अधिकांश साथीहरूको भावना छ।’ पूर्व राजपाको भेलामा समायोजनको विषयमा पनि छलफल भएको नेताहरूले जनाएका छन्। नागरिक दैनिकबाट


















