नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

173

काठमाडौं । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ ।

नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रवर्द्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताएका छन् ।

‘यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिनुपर्छ”, राजदूतले अल हैलले भने ।

उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको बताए ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतार सहित मध्यपूर्वमा पर्यटन प्रवर्द्धनका नयाँ योजना अगाडि सारेको बताए ।

उनले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकताअनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए ।

रेग्मीले भने, ‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ । खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।’

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here