जसपालाई फकाउने कसरतमा कांग्रेस

104

काठमाडौं । सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरत जारी राखेको छ । तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको छैन । जसपा अनिर्णित हुँदा नयाँ सरकार बनाउने कांग्रेसको योजना तत्काल पूरा हुन कठिन भएको छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपासहितको संयुक्त बैठकमार्फत कांग्रेसले जसपालाई सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरे पनि जसपाले कुनै निर्णय दिएन । जसपाले निर्णय नदिँदा कांग्रेसको तत्काल नयाँ सरकार बनाउने योजना पर सरेको हो ।

नयाँ सरकार गठनका विषयमा माओवादी केन्द्रले भने कांग्रेसलाई सहमती दिँदै आइरहेको छ । शुक्रबारको बैठकमा कांग्रेस सभापति देउवाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पार्टीले निर्णय गरिसकेको भन्दै माओवादी र जसपालाई समेत निर्णयबारे जानकारी गराएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपालाई विधिवत रूपमा नयाँ सरकार गठनका लागि सहकार्य प्रस्ताव गरिएको जानकारी दिए । उनले आफ्नो दलको प्रस्तावमा जसपा सकरात्मक रहेको तर आन्तरिक छलफलपछि टुंगोमा पुग्ने जसपाको जवाफ रहेको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जसपा नेता महन्थ ठाकुरले जसपालाई पहिलोपटक नयाँ सरकारका लागि सहकार्यको प्रस्ताव आएको र आन्तरिक छलफलपछि निर्णय दिने जानकारी गराएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here