नेपाल एक बहुभाषिक र बहुसांस्कृतिक देश हो । विश्वमा नेपाललाई चिनाउने मध्ये एक जात्रा र पर्वहरु पनि हुन् । नेपालमा पर्यटन संम्बद्र्वन गर्न तथा विश्वभर नेपाललाई चिनाउने मध्ये जात्रा पर्वहरु पनि महत्वपूर्ण माध्यम हुन् । नेपालका नेवार समुदायले मनाउँदैै आइरहेको जात्रा पर्वहरुको धार्मिक, सांस्कृतिक महत्व रहेको छ र सँगसँगै आपसी सम्बन्धलाई पनि बलियो बनाउन जात्रा पर्वहरुको महत्वपूर्ण प्रभाव रहने गरेको छ । हुन्त नेवार समुदायले बर्षभरि हर्षोलाशका साथ मनाउने जात्रा पर्वहरुमा नेपाली संस्कार र संस्कृति जिवन्तता कायम रहेको पाइन्छ । विशेषगरी आफ्ना पिता पुर्खाको ज्ञान, आचरण र गुणलाई स्मरण गरी बर्षभरि ३६५ दिनमा ३६६ पटक हिन्दु तथा बज्रयानी तान्त्रिक परम्परा अनुसार देशमा शान्ति कायम गर्न, प्राकृतिक अष्ट भय, अष्ट संकट निराकरण गरि सुशासन कायम होस् र परम्परालाई कायम राख्न सकियोस् भन्ने नै जात्रा पर्वहरुको सन्देश हो ।
नेवार समूदायको जात्रा पर्वहरु, कला, संस्कृति लुकिरहेको भए पनि यसमा धेरै जसो अन्धविश्वासले पनि प्रभाव पारेको छ । मानव समुदायमा धर्म र संस्कृतिले छोडेको प्रभावलाई हटाउन निक्कै कठिन हुन्छ । यसका लागि जनचेतना नै महत्वपूर्ण पक्ष हो । सरकारले विश्वभर कोरोना भाईरसले आक्रान्त पारेको भन्दै कोरोना भाइरसको संक्रमणबाट बचाउन जात्रा पर्वहरुलाई निषेध गर्ने प्रयास गरिरहेको छ । यस्तो काम सरासर गलत हो । सरकारले अन्धविश्वासलाई हटाउन अपनाउनु पर्ने सबै खालका प्रयासहरु गर्नुपर्दछ । चेतनाको अभावले नै समाजमा अन्धविश्वासको जग बसेको हुन्छ । अन्धविश्वास हटाउन सरकारले दमनको सहारा लिने होइन् । दमनबाट अन्धविश्वासलाई हटाउन खोजियो भने समाजमा विद्रोह हुनसक्छ । सांस्कृतिक र धार्मिक अन्धविश्वासले सृजना गरेको विद्रोहले अराजनीतिक हुन्छ र अराजक बन्न पनि पुग्दछ । तर यसका ठीक विपरित जनचेतनाबाट हुने प्रभावले परिणाम दिन सक्दछ ।
गत वर्ष जात्रा पर्वहरु मनाउन नपाउँदा अधिकांश सम्पदाप्रेमि, उपत्यकाबासीहरुमा ठूलो विद्रोहको अवस्था सृजना भएको थियो । सरकारले ल्याउन प्रयास गरेको गुठी विधेयकले जनतालाई सडकमा उतारेको थियो । गुठी विधेयकको विरुद्धमा सडकमा उत्रिएको जनताको भावना संस्कृति र परम्पराको संरक्षणका लागि थियो भन्ने कुरा सरकारले समयमै बुझ्न नचाहेको भए विद्रोहले झनै ठूलो रुप ग्रहण गर्ने थियो । यसैबाट पनि समाजमा जनचेतनाको आवश्यकता छ भन्ने कुरा स्पष्ट हुन्छ ।
गुठी बिधेयकले संस्कृति र परम्परालाई चुनौति दिएको थियो । यसले सम्बन्धित जनस्तरमा नैराश्यता छाएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका स्थानियबासीमा सतासीन सरकार तथा दलका नेताहरुप्रति तीब्र आक्रोश पैदा गराएको थियो । तर जनताले सरकारलाई झुकाउन सफलता हासिल गरेका हुन् ।
सतालिप्साका लागि नेपाल बन्द, जुलुश हड्तालहरु र सभा सम्मेलनहरु दलहरुले आयोजना गर्दा कोरोना संक्रमणको त्रास नहुने तर परापूर्वकालदेखि चल्दै आएको मञ्छेन्द्रनाथ जात्रा, इन्द्रजात्रा लगायतका जात्रा पर्वहरु सञ्चालन गर्दा कोरोनाको संक्रमण बढ्ने अवस्था रहँदैन । यो नै सत्ता सञ्चालक दलहरुको जनविरोधी चिन्तन हो । यसरी संस्कृति र जात्रा पर्वहरुलाई निषेध गर्नु जनपक्षधरता मान्न सकिदैन ।
हुनत कोरोना भाइरस खतरनाक रोग हो, तर सावधानीपुर्वक स्यानिटाइजर र माक्स लगाएर हुल मुल कम गरे पनि जात्रा पर्वहरु गर्न नसकिने होइन भनेर सरकारले उर्दी जारी गरेको छ । सरकारको यो उर्दीले पनि जनतामा चेतना जगाउने भन्दा पनि त्रास पैदा गराउने मनसाय देखिन्छ । जात्रा पर्वलाई निषेध गर्ने मानसिकता नै सरकारले यस्तो उर्दी गरेको हुनसक्दछ ।
संस्कृति र परम्पराहरु उपत्यकाका नेवार समुदायहरुको मात्र हुँदैन । देशका सबै जनताको सांस्कृतिक पहिचानको परम्परा हुन्छ । उपत्यकाका नेवार बासीहरुको मात्र परम्परालाई निषेध गर्न खोज्नु नेवार समुदाय माथिको गलत दृष्टिकोण हो भन्न सकिन्छ ।


















