सुशील ज्ञवाली भन्छन् निजी आवासमा ९३ प्रतिशत प्रगति

73

काठमाडाैं /राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको जनाए।
अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने जनाए।
यस्तै पहिलो किस्ता वितरण ९९/८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६/७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८/६६ प्रतिशत पुगिसकेको पनि बताए। यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताए। निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरुको सम्बोधन गरिएको पनि जनाए।
भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको पनि जनाए।
क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन्। रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको र धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने पनि सिइओ ज्ञवालीले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here