–चन्द्रप्रकाश बानियाँ
“खस जातिको मौलिक धर्म मष्ट थियो । कालक्रममा त्यो छुट्यो । इतिहासको गर्भमा विलुप्त भयो । समय सन्दर्भले आफ्नो धर्म खोज्नुपर्ने बनायोे । पुनः जगेर्ना गर्नुपर्ने भयो” भन्ने मान्यता खस अभियानले बनाएको हो । अब उप्रान्त खसहरुले आफ्नो धर्मं खुलाउनुपर्ने लिखत गर्नुपर्ने भो भने जातिमा खस र धर्ममा मष्ट लेखौं, लेखाऔं भनेर सार्वजनिक आह्वान गरेको पनि उसैले हो । खस अभियानको त्यही अनुरोध परेको मेरो अघिल्लो अङ्कमा प्रकाशित छोटो लेखोटमा दर्जनभर तिक्त प्रतिक्रियाहरुको ओइरो लाग्यो । थोरै मानिसहरुद्वारा मात्र मष्टपूजन सहितको हिन्दू धर्म लेख्दा हुन्थ्यो कि भन्ने भद्र र शालिन प्रश्नहरु उठाइए ।
जसलाई चोट लाग्छ उही रुने कराउने हो । तिक्त प्रतिक्रियाहरु दिनेहरुको नाम नामेसी हेर्दा अधिकांश ब्राह्मण समुदायका थिए भन्ने स्पष्ट हुन्थ्यो । उनीहरुको प्रतिक्रिया अस्वभाविक लागेन । प्रतिक्रिया व्यक्त गर्नेहरु सम्भवतः सबै पुरेतवर्गका हुँदा हुन् । पुरेतवर्गलाई खसहरुको हिन्दू धर्मत्यागले घाटा पर्छ कि भन्ने लाग्नु स्वभाविक हो । आफूलाई घाटा लाग्ने कुरा कसलाई रुचिकर लाग्छ र ? जसले पुरेत्याई गर्दैन उसलाई धर्म मान्ने मानिसहरुको संख्या घटबढ हुनुसंग के सरोकार रहन्छ र ? कसैमा आग्रह, पूर्वाग्रह पनि हुँदो हो । तीतो र छुद्र टिप्पणी गर्नेहरुमध्ये केही खसहरु पनि थिए । नजानेर वा नबुझेर प्रतिक्रिया दिनेहरुप्रति टिठाउनुबाहेक अरु गर्न के सकिन्छ र ? अबोध शिशुले आफ्नै फोहर मुखमा राख्यो भनेर आमा बाबु रिसाउँदैनन् ।
नजानेर वा अज्ञानतावश प्रश्न उठाउनेहरुलाई ओठेजवाफ फर्काउनुको कुनै अर्थ रहँदैन । तर जसले जात, थर वा वर्ण जे जे भए पनि सियौंदेखि एउटै परम्परा, रीतिस्थिति र धर्म संस्कार मान्दै आएकाहरु भविष्यमा पनि एकै ठाउँमा रहँदा के फरक पर्छ र भनेर शालीनतापूर्वक प्रस्तुत हुने भद्रजनहरुलाई आफूले पनि संयम राखेर शालीनतापूर्वक जवाफ फर्काउनु वा छलफल गर्नु उपयुक्त हुनेजस्तो लागेको छ । र खसहरुले विस्मृतिको गर्भमा पत्तालिइसकेको धर्मको खोजी गर्नुपर्ने आवश्यकता किन महसूस गरे भन्ने सम्बन्धमा अलिकता कुरा राख्नु आवश्यकता छ जस्तो लागेको छ ।
पुर्खाहरुले सुरु गरेको हिन्दू धर्म अवलम्बन गर्ने परम्परालाई आज पर्यन्त खसहरुले निरन्तरता दिइआएकै थिए । धर्मले खसहरुको के खती गरिदिएको होला र ? सनातन चलिआएको परम्परा मान्दा के फरक पर्छ र भन्ने प्रश्नको जवाफ खोज्दा डा. भिमराव अम्बेडकरलाई सम्झन मनलाग्यो । स्वतन्त्र भारतको संविधानको मस्यौदा डा. अम्बेडकरले गरेका हुन् भनेर मानिन्छ । उनले बनाएको संविधानले राज्यलाई धर्मनिरपेक्ष मानेको छ । डा. अम्बेडकर पनि व्यक्तिगत हिसाबमा धर्मनिरपेक्ष थिए । कुनै धर्मविशेष प्रति उनको अनुराग वा विराग थिएन । उनको अभियान वा उद्देश्य मूलतः दलितहरुलाई समान सामाजिक मान्यता दिलाउनु थियो । छुवाछुत र भेदभाव समाजबाट उन्मूलन गर्नु थियो । दुई दशकभन्दा बढी समयसम्म अम्बेडकरले धर्म निरपेक्ष रहेरै जातिभेद, छुवाछुतविरुद्ध आन्दोलन चलाए । हिन्दू धर्मको वर्ण व्यवस्था विरुद्ध अभियान चलाए । उनलाई आफ्नो उद्देश्यमा अपेक्षित सफलता मिलेन । कथित उच्च जातका मानिसहरबाट असहयोग रहनु स्वभाविक थियो । स्वयम मर्कामा रहेको दलित वर्ग पनि उत्साहित हुन सकेन, जागृत भएन । अम्वेडकरलाई तन मनले सहयोग समर्थन गरेन । दलित समुदायको तर्फबाट हामी हिन्दू होइनौं भने के हौं ? हाम्रो धर्म संस्कृति हिन्दू होइन भने अर्को के हो भनेर उठ्ने उठाइने प्रश्नले उनलाई लगारिरह्यो ।
दुई दशक लामो समाजसंगको सहकार्य र अध्ययनबाट डा. अम्वेडकरलाई के तथ्यबोध भयो भने आम सर्वसाधारणले धर्मको शास्त्रीय परिभाषा बुझ्दो रहेनछ । सरोकार राख्दो पनि रहेनछ । समाजले अभ्यास गर्दै आएका रीतिरिवाज, परम्परा र जन्मदेखि मृत्युसम्म गरिने संस्कारहरुलाई धर्म भनिठान्दो रहेछ । मानिआएको धर्म त्याग गर्नासाथ न्वारान गर्ने विधि के हुन्छ ? मृत्यु संस्कार कसरी गर्ने ? चितामा जलाउने कि लासलाई जमिनमा समाधिस्थ गर्ने भनेर खोजी गर्दो रहेछ । अरु त अरु एकादशी व्रतजस्तो स्वास्थ्य तम्दुरुस्त राख्नका लागि अवलम्बन गरिने निराहार व्रत बस्ने अभ्यासलाई पनि धार्मिक कार्य भनिठान्दो रहेछ । धर्मविना समाज चल्दैन भन्ने मान्यता समाजमा रहेछ । अर्थात धर्मविना सामाजिक व्यवहार चल्दैन भन्ने मान्यता समाजले राख्दो रहेछ । छुवाछुत र जातिभेदको कारण हिन्दू धार्मिक मान्यता हो भन्ने जान्दाजान्दै पनि “त्यसपछि के ?” भन्ने प्रश्नले समाजको हातखुट्टा बाँधिदिँदो रहेछ । त्यसैले हिन्दू धर्मबाट दलित समाजलाई विरत बनाउनका लागि अर्को विकल्प दिनुपर्ने रहेछ । विना विकल्प मानिआएको धर्मत्याग गर्ने हिम्मत समाजले गर्न सक्दो रहेनछ भन्ने बोध भएपछि डां अम्वेडकरले हन्दिू धर्मको उत्तम विकलप कुन हुन सक्छ भनेर अध्ययन गरे । सबभन्दा उपयुक्त विकल्प बुद्ध धर्मलाई ठह¥याए । आफूलाई धर्मनिरपेक्ष भनेर घोषणा गरेको दुई दशकपछि पाँचलाखभन्दा बढी आफ्ना समर्थक सहित उनले सामुहिक धर्म परिवर्तन गरेका थिए ।
खस अभियन्ताहरुका अगाडि पनि झण्डै अम्वेडकरकै जस्तो समस्या उपस्थित हुन गएको थियो । वास्तवमा खस अभियान आरम्भमा धर्मनिरपेक्ष थियो । अर्थात जनुसकुै धर्म संस्कार मान्ने भए पनि खसजातिलाई आफ्नो जातिचेतना दिने र गोलबन्द गर्ने उसको उद्देश्य थियो । संविधानमा राखिएको खस–आर्य भन्ने परिभाषा भ्रमपूर्ण छ । त्यसमा जालसाँजको गन्ध आउँछ । सोझो खस जातिलाई शोषण परम्पराको शिकार बनाइरहने जालझेल र षडयन्त्र लुकेको छ । त्यसैले खस जातिलाई निद्राबाट जगाउनुपर्छ । खस र आर्य अलग जाति हो भन्ने तथ्यबोध गराउनुपर्छ । आर्यसंग पारपाचुके गर्नुपर्ने कारणबाट अवगत गराउनुपर्छ । खस अलग जाति भएकोले अन्य जातजातिले जस्तै राज्यबाट समानुपातिक सुविधा पाउनुपर्छ । समाज हक अधिकार पाउुनपर्छ । न्यायोचित अंश पाउनुपर्छ । खसको भाग अरुले चोर्ने लुट्ने अवसर दिनुहुदैन । नैसर्गिक अधिकारप्रति खसजातिलाई सजग नगराउने हो भने अधिकार गुम्ने मात्रै होइन, जातिको अस्तित्व पनि समाप्त हुन्छ र जातिको अस्तित्व रक्षको लागि खस जातिलाई जगाउने अभियान चलाउनुपर्छ भनेर अघि सरेको अगुवाहरुले प्रारम्भमा क्षत्री आन्दोलनको झण्डा उठाएका थिए । आम खसभन्दा अलि सचेत अगुवाहरुले खस क्षत्रीको नाममा अभियान चलाउन थालेका हुन् ।
यहीँनेर आन्दोलनका अगाडि एउटा समस्या उपस्थित भएको अनुभूति हुन गयो । त्यो समस्या भनेको हिन्दू धर्मले दिएको “जात” थियो । खसलाई क्षत्री भन्ने मान्यता दिनुको अर्थ हिन्दू भन्ने प्रमाणित गर्नु हुन्थ्यो । हिन्दू भएपछि खस र अरु जातिमा के फरक रह्यो र भन्ने भ्रम उत्पन्न गराउने नै भो । ब्राह्मण, ठकुरी, क्षत्री, खस वा शुद्र सबै हिन्दू भएपछि खस र अरु जातमा अन्तर के रहयो भन्ने लाग्ने नै भो । हिन्दू भनेपछि सबै जात एकै, भएपछि आर्य र खसको बिचमा विभेद खोज्नुको के प्रयोजन रहन्छ र भन्ने बुझाईले प्रश्रय पाउने नै भो । सम्मानजनक अर्थ दिने जात क्षत्री छोडेर बाहुनबाट झरेको वा खसेको भन्ने अपमानजनक अर्थ दिने खसको खोजी किन गरिरहने भन्ने मिथ्या आत्मगौरव जीवित रहने नै भो । आखिर हिन्दू नै हुनु छ भने खस भनिरहनु वा क्षत्री भन्न छोड्नुपर्ने जरुरत के छ र भन्ने प्रश्नले खसहरुलाई अलमल्यायो । आफ्नो जाति खस हो भनेर भनाउन पनि कठिन हुने परिस्थिति उत्पन्न भयो ।
खस जातिमा अलग अस्तित्वको भावना जगाउने हो भने “हामी क्षत्री होइनौं” भन्ने चेत जगानुपर्ने भयो । क्षत्री होइनौं भन्नुको अर्थ क्षत्री थर भिडाउने हिन्दु धर्म पनि हाम्रो होइन भन्नुपर्ने भो । पन्ध्रौं शताब्दीदेखि मात्र हामीलाई हिन्स्दू धर्म भिराइएको हो, जनै भिराइएको हो र हिन्दु धर्म संस्कारबाट दिक्षित गराएर शोषणको दीर्घ पम्परा बसालिएको हो भन्ने चेतना जगाउनुपर्ने भयो । हामी हिन्दु थिएनौं । अर्थात खसको परम्परागत धर्म हिन्दू थिएन । हिन्दू नहुनासाथ क्षत्री वर्ण पनि हाम्रो मौलिक होइन । खसले जनै भिरेको पाँचसय वर्ष मात्र भयो । जनै भिर्दा पनि खसको हैसियत वैदिक वैश्यवर्णको समान मात्रै थियो । खसहरु क्षत्री भनिदैनथे । वैदिक क्षत्री ठकुरीहरुसंग लेनदेन र विहेबारी चल्दैनथ्यो । जङ्गबहादुरलाई आफ्नै जात प्रमोसन गर्नुपर्ने वाध्यता आइलागेपछि सबै खसहरलाई एक तह माथि उचाल्ेर क्षत्री भनाएका हुन् । क्षेत्री नभने वा नलेखेवापत दण्डित हुनुपर्ने भएपछि सबै जनैधारी खसहरु क्षत्री भनिन थालेका ुहन् । हिन्दू धर्मले जनै भिडायो, जङ्गबहादुरले जात भिडाए । खस जातिको पुनरुत्थान गर्ने हो भने राणाशाहीले भिडाएको फर्जी क्षत्री पद परित्याग गर्नुपर्छ भन्ने अभियान चलाउनुपर्ने भयो तर त्यसो गर्दा अम्वेडकरका सामुजस्तै खसहरुका अगाडि धर्म वाधा बनेर उभियो । हिन्दू धर्मबाट अलग भएपछि हाम्रो धर्म कुन हुन्छ ? जन्मदेखि मृत्युसम्मका संस्कार र रीतिरिवाजहरु कस्ता हुन्छन् भन्ने प्रश्न खस समाजे उठाउन थाल्यो ।
खस समाजले उठाउन थालेको त्यही प्रश्नको उत्तर खोज्ने सन्दर्भमा खसहरुको आफ्नो मौलिक धर्म संस्कृति के हो भनेर खोजी अनुसन्धान गर्नुपर्ने भयो । प्राचीन धर्म, संस्कृति, संस्कार र परमपरहरको इतिहास खोतल्दै जाँदा इतिहासको एउटा कालखण्डमा खसज जातिको अलग र मौलिक धर्म मष्टको अस्तित्व रहेको र त्यसैको अवशेषका रुपमा कुलदेवताको रुपमा मष्टपूजन परम्परा जीवित रहेको तथ्याबोध हुन गयो । प्राचीन युनान, ककेसिया, फारससम्म मष्ट धर्म मानिने गरेको संकेत मिल्यो । धर्म र देववता फरक कुरा हो । तर कुलधमृको अवशेषले कुलदेवताको नाम पाएको हो भन्ने कुराको सहज अनुमान लगाउन सकिने आधार फेला प¥यो । मष्ट धर्मको उल्लेख सातौैं शताब्दीमा हुएनसाङले गरेको भारत भ्रमणको यात्रा वर्णनमा समेत परेको छ भन्ने कुराले खस अभियन्ताहरुलाई मष्टलाई धर्म हो भनेर पैरवी गर्ने आधार दिएको हो र हिन्दू धर्मको विकल्पको रुपमा मष्ट धर्मलाई अघि सारेको हो ।
हिन्दू धर्मको विकल्प अघि सार्नुपर्ने खस अभियन्ताहरुको वाध्यता के थियो भन्ने कुराको कारण त्यही थियो । खस जातिको पहिचान र अलग अस्तित्व कायम गराउने इतिहासको गर्तमा लुप्तप्रायः भैसकेको मष्ट धर्म खोज्नुपर्ने बनाउनुको कारण त्यही थियो । खस अभियन्ताहरुमा कुनै धर्म विशेषप्रति कुनै दुर्भाव छैन । सबै धर्म संस्कृतिप्रति समान सम्मान र सदभाव छ । स्वधर्मको खोजी गर्नुको अर्थ कुनै धर्म विशेषको विरोध गर्नु होइन । जुनसुकै धर्म संस्कार अवलम्बन गरेका भए पनि सबै खसहरुलाई मष्ट धर्ममा गोलबन्द हुन अुनरोध गर्नुको कारण पवित्र छ । त्यस्तो आह्वानमा कुनै लप्पन छप्पन छैन । इष्र्या र डाह छैन । समाजमा कटुता र फुट सिजर्ना गर्ने उद्देश्य पनि होइन । । खस अभियन्ताहरुको बुझाई र भनाई के मात्रै हो भने धर्मभन्दा जाति महत्वपूर्ण हो । धर्म लिन र छोड्न सकिन्छ । जाति छोड्न वा लिन मिल्ने विषय होइन । जुनसकै धर्म माने पनि जाति परिवर्तन हुदैन । थप कुरा के हो भने धर्म मानिसका लागि हो । धर्मका लागि मानिस हुदैन । हुनु पनि हुदैन । धर्म नहुँदा पनि मानिसको व्यवहार चल्छ भन्ने चेतना नजागिसकेको समाज हुनाले खस समाजलाई उनीहरुरको मौलिक र परम्परागत धर्म मष्ट हो भनेर चिनाउनु परेको हो ।
धर्म मानिसको सिर्जना हो । इश्वर वा भगवानको वरदान होइन । भगवान पनि मानिसकै रचना हुन् । त्यसैले आवश्यकता प¥यो भने मान्छेले नयाँ धर्म जन्माउन सकछ । कैयौं नयाँँ नयाँ पन्थहरु जन्मदै आएका छन् । मष्ट धर्म नयाँ होइन । त्यो वेदपूर्वको धर्म हो । मष्ट धर्मको अस्तित्व वेदभन्दा सदियौं जेठो छ । मष्ट धर्मका नीति नियम व्यवस्थाहरु खोज्नुपर्ने गरी पत्तालिएका छन् । धर्मको खोजी गरौं । धर्मको अर्थ मान्नु हो । त्यसैले धर्मसंगै रीति परमपराहरु उधिनौैं । राम्रा, वैज्ञानिक र व्यवहारिक रीतिहरु अपनाउँ । अवैज्ञानिक र अन्ध परम्पराहरु आफ्नै हुन् भने पनि त्यागौं, परिमार्जन गरौं । नयाँ सन्दर्भमा नयाँ रीति स्थिति र परम्पराहरु निर्माण गरौं र गौरवका साथ “हामी खस हौं” भनौं, “हाम्रो धर्म मष्ट हो” भनौं भनेर खस अभियन्ताहरुले आह्वान, अनुरोध र पुकार लगाएका हुन् । खस जातिलाई जागृत गर्र्नेे सन्दर्भमा हिन्दू धर्मले सदियौंदेखि धर्मको नाममा मच्चाएको शोषणको जरोटुप्पो उधिन्नुपर्ने खसहरुको वाध्यता हो । त्यसका लागि खस अभियान क्षमा याचना गर्दछ । खसहरुमा चेतना भर्न त्यो अपराध गर्नुपर्ने वाध्यता छ ।-जनधारणा साप्ताहिकबाट


















