— राज्यलक्ष्मी शाक्य
गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अभैmपनि आफ्नो मन्त्री परिषदलाई पूर्णता दिनसक्नु भएको छैन । उहाँले राम्रो काम गर्न चाहेपनि गर्न सक्ने स्थिति देखिदैन । तैपनि देउवा नेतृत्वको सरकारले पूर्णता नपाउँदै आगामी चैतसम्म ४ करोड भन्दाबढी डोज कोरोनाविरुद्धको खोप प्राप्त हुने उद्घोष गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकहरुलाई पुग्ने गरी आगामी चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त हुने जानकारी सार्वजनिक गरेको छ ।
सरकारले चैतसम्म २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री नपाउँदै सचिव लक्ष्मण अर्यालले चैतसम्म खोप लगाउने भनिएका सबै नागरिकलाई पुग्ने गरी खोप प्राप्त हुने जानकारी गराउनु भए लगत्तै स्वास्थ्य मन्त्रालयमा शिक्षाविद् उमेश श्रेष्ठलाई राज्यमन्त्रीको हैसियतमा नियुक्त गरिएको छ । स्वास्थ्यमा स्वाथ्यविद नै हुनु पर्ने गुनासो पनि सुनिएको छ । कोरोना उपचारका नाममा स्वास्थ्य मन्त्रालयबाट आयात गरिने उपचार सामग्रीहरुमा आर्थिक अनियमितता भइरहेको चर्चा चलिरहेका बेला स्वास्थ्य मन्त्रालयप्रति सर्वत्र चासो देखिएको छ ।
खोपका सन्दर्भमा लक्षित समूहका सबै नागरिकलाई दुई मात्रा लगाउँदा ५ करोड ३० लाख बढी डोज खोप आवश्यक पर्ने देखिन्छ । तर, केही खोप सिंगल डोज (पहिलो मात्रा) मात्रै लगाए पुग्ने खालको पनि प्राप्त हुने भएकाले प्रक्षेपण गरिएअनुसारको खोप लक्षित समूहका सबै नागरिकलाई लगाउन पुग्ने मन्त्रालयका सचिव अर्यालको भनाइ रहेको छ ।
त्यसैगरी मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले ४ करोड २८ लाख ४८ हजार डोजमध्ये १ करोड ५ लाख ४८ हजार डोज खोप असोजसम्मै प्राप्त भइसक्ने जानकारी गराउनु भएको छ । गत सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिँदै डा लोहनीले असोजसम्म कोभ्याक्स सुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने जानकारी गराउनु भएको थियो ।
कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप प्राप्त हुने जानकारी गराइएको छ । जापानबाट प्राप्त हुने खोप आगामी भदौ पहिलो सातासम्म आइपुग्ने जनाइएको छ । त्यस्तै, कोभ्याक्स सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार डोज खोप भदौको अन्तिम साता प्राप्त हुने लोहनीले जानकारी गराउनु भएको छ ।
वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप प्राप्त हुने उहाँको भनाइ छ । चीनबाट अनुदानमा प्राप्त हुने खोप यही साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले जानकारी गराउनु भएको छ । यी सबै भनाईहरुबाट खोपको लागि सरकारले राम्रै पहल गरेको देखिन्छ ।
आगामी असोजसम्म खरिदबाट ७० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ । नेपालले भारतबाट पहिले नै खरिद गरेको, तर प्राप्त हुन नसकेको १० लाख डोज कोभिसिल्ड खोप भदौको दोस्रो साता प्राप्त हुने दावी पनि लोहनीले गर्नु भएको छ । त्यस्तै, चीनबाट खरिद गरिएको ६० लाख डोज भेरोसेल खोप भदौ मसान्तसम्म प्राप्त भइसक्ने पनि उहाँको भनाइ छ ।
डा लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी गराउनु भएको छ । जसअन्तर्गत कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने उहाँको भनाइ छ । कोभ्याक्सबाटै लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जनसन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ ।
असोजदेखि चैत सम्ममा बालबालिकाहरुका लागि ६० लाख डोज फाइजर खोप पनि उपलब्ध हुने लोहनीले जानकारी गराउनु भएको छ ।
डा लोहनीका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार कोभिसिल्ड र १५ लाख ३४ हजार ८ सय ५० जनसन गरी १८ लाख ८२ हजार डोज खोप प्राप्त भएको लोहनीले जानकारी गराउनु भएको छ । हालसम्म वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १८ लाख डोज र भारत सरकारबाट ११ लाख डोज खोप प्राप्त भएको जनाइएको छ । खरिद गरेर हालसम्म ५० लाख डोज खोप प्राप्त भएको लोहनीले जानकारी गराउनु भयो । १० लाख डोज खोप भारतबाट कोभिसिल्ड र ३२ लाख डोज चीनबाट भेरोसेल खोप खरिदबापत प्राप्त भइसकेको उहाँले जानकारी गराउनु भयो । खरिद बापत चीनबाट प्राप्तमध्ये ८ लाख डोज खोप शुक्रबार नेपाल आइपुग्ने लोहनीको भनाइ छ ।
सरकारले चैतसम्म २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य लिएको लोहनीले जानकारी गराउनु भएको छ । लक्षितमध्ये असोजसम्म ३३ प्रतिशत र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिइएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार १४ लाख ३० हजार ४ सय नागरिकले पूर्ण खोप लगाइसकेका छन् । त्यस्तै ३४ लाख ५ हजार १ सय ५४ जनाले पहिलो डोज लगाइसकेको जनाइएको छ । यसरी खोप अभियानमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता अनुरुप खोप अभियानले आशा जगाएको छ ?- जनधारणा साप्ताहिकबाट

















