काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाहीको चेतावनी दिएका हुन्। काठमाडौं उपत्यकामा जारी गरिएको निषेध आदेश कायमै रहेको विज्ञप्तिमा जनाइएको छ।
‘कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उक्तिकै जिम्मेवारी र भूमिका रहन्छ। तर निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समुहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड-१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ’ पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ।’


















