जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुने

96

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना, २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुनेछ ।
त्यसैगरी सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभयो ।
उहाँले निजामती सेवा नियमावली व्यवस्थाबमोजिम निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् विस्तार कहिलेसम्म हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभयो । त्यसैगरी बजेटको विषयमा राखिएको जिज्ञासामा मन्त्री कार्कीले केही दिनअघि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भएको भेटमा आफूले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव राखेकोमा उहाँले नियम निलम्बन गर्ने कुरामा असहमति जनाउनुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भदौ २३ देखि संसद्को अधिवेशन सुचारु हुन्छ । मलाई अहिले पनि आशा छ, हामी वार्ताद्वारा एउटा निष्कर्षमा पुगेर अगाडि बढ्छौँ ।” तत्कालीन सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएको थियो ।
उहाँले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप प्राप्त हुने करिब पाँच अर्ब ५४ करोड रुपियाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै ‘नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम’का लागि प्राप्त हुने पाँच अर्ब ९४ करोड रुपियाँ बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ । Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here