नेपाल ल्याउन लागेका सामान खासामा रोकिए

71

सिन्धुपाल्चोक । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्।

खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्। चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्।

दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो। सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले चीनबाट दैनिक दर्जनभन्दा कम सङ्ख्या कन्टेनर भित्रिने गरेको बताउनुभयो। भूकम्पपछि चार वर्ष बन्द तातोपानी नाका हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा नआएकाले सामान आयातमा समस्या हुँदै आएको उहाँले बताउनुभयो।

तिब्बतको ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले चिनियाँ वाणिज्य भन्सार तथा बन्दरगाह प्राधिकरणका अधिकारीसँग भएको छलफलमा खासा क्षेत्रमा रोकिएका मालवाहक कन्टेनर दैनिक २० वटाभन्दा बढी छोडिदिने वचन प्राप्त भएको जानकारी दिनुभयो।

नेपाली व्यापारी सुवास तिमल्सिनाले तातोपानी नाका र केरुङ नाकाबाट सहजै सामान ल्याउने वातावरण तयार गरिदिन सरकारसँग आग्रह गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here