काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन्।
नेपाल संवत ११४२ का अवसरमा आज (शुक्रबार) शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले आजको दिनले नेपाल संवत्को प्रवर्द्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वा:प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उनले स्मरण गरेका छन्।

















