एमालेको दशौं महाधिवेशनको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतमा एमालेका भएको गुटबन्दीले पार्टीलाई क्षति गरेको र अब त्यस्तो हुन नहुने जनाए । मंसिर १०–१२ चितवनमा एमालेको एकताको महाधिवेशन हुने र त्यसले पार्टी अध्यक्ष ओलीलाई सर्वसम्मत नेतृत्वमा चयन गर्ने नेपालले जनाए । ‘महाधिवेशनले ओली कमरेडलाई नै सर्वसम्मत अध्यक्षमा चयन गर्छ । ओली बाहेक अहिले एमालेमा नेता छैन । एमालेमा एकल नेतृत्व केपी ओली नै हो,’ नेपालले भने ।
अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको र त्यसलाई परास्त गर्नको लागि पार्टीलाई सुदृढ बनाउनुपर्ने उनले जनाए । त्यसबाहेक उनले एमालेले तीन ‘न’ नीति, निर्णय र नेतृत्वलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने जनाए ।
पार्टी नेतृत्व र कार्यकर्ताले नीति र निर्णयप्रतिको प्रतिबद्धता चाहिने र नेतृत्वको संरक्षण पनि गर्नुपर्ने उनले जनाए । ‘पार्टीको नीतिप्रतिको प्रतिबद्ध हुनुपर्छ । पार्टीले सामूहिक रुपमा गरेको निर्णय अप्रिय नै भए पनि कार्यान्वयन गरेर अघि बढ्नुपर्छ,’ नेपालले भने, ‘पार्टी बनाउनको लागि नेतृत्वको रक्षा पनि महत्त्वपूर्ण कुरा हो । विरोधीले सबैभन्दा पहिले नेतृत्वमाथि नै आक्रमण गर्ने र कमजोर बनाउन प्रयास गर्ने भएकाले नेतृत्वको रक्षामा ध्यान दिनुपर्छ ।’
दुई कार्यकाल एमालेको पोलिट्ब्यूरो सदस्य रहिसकेका नेपालले आगामी महाधिवेशनबाट पार्टी सचिव बन्ने प्रयासमा छन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियूबाट राजनीति शुरू गरेका नेपाल अनेरास्ववियूको अध्यक्ष, जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै बागमती प्रदेश कमिटी सचिवालय सदस्य र उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज भइसकेका छन् । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोकको प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका नेपाल बागमती प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भइसकेका छन् ।


















