प्रम देउवाद्वारा प्रचण्ड र माधव नेपालसँग एमसीसीमा गर्नुपर्ने संशोधन बुँदा मागेपछि

105

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा गर्नुपर्ने संशोधनका बुँदा के के छन् आफूलाई लेखेर दिन माग गरेका छन्।

तीन शीर्ष नेताहरुबीच बुधबार बिहान भएको बैठकमा प्रचण्ड र नेपालले एमसीसी जस्तातस्तै संसदबाट पारित गर्न नसकिने अडान लिएपछि प्रधानमन्त्री देउवाले उनीहरुसँग संशोधन गर्नुपर्ने बुँदा लेखेर दिन माग गरेका हुन्।  बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री देउवाले मागेअनुसार आफूहरुले एमसीसी सम्झौतामा गर्नुपर्ने संशोधनका एकएक बुँदा केलाएर दिने बताए।  उनले आजै साँझसम्ममा एमसीसीका बेठीक बुँदा के के छन् सबै प्रधानमन्त्री शेरबहादुर देउवालाई लिखित रुपमै दिने जानकारी दिए।

  ‘बिहान हामीले एमसीसी सम्झौताबारे गम्भीरतापूर्वक छलफल गरेका छौं’, नेता नेपालले भने, ‘प्रधानमन्त्रीलाई हामीले गम्भीरतापूर्वक यथास्थिति एमसीसी पारित गर्न सक्दैनौं भन्यौं। त्यहीअनुसार उहाँले के के संशोधन गर्नुपर्छ दिनुस् भन्नुभयो। के के बेठीक छ, हामी दिन्छौं। आजै साँझ फेरि बस्दैछौं।’  उनका अनुसार एमसीसीमा गर्नुपर्ने संशोधनका विषयमा आजै साँझ फेरि सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ। उनले बाहिर सञ्चारमाध्यममा आएजस्तो प्रधानमन्त्री देउवाले एमालेसँग मिलेर एमसीसी पारित गर्ने कुनै सम्भावना नभएको सुनाए। नेता नेपालले एमसीसीकै कारण सत्ता गठबन्धनसमेत कुनै हालतमा नफुट्ने जिकिर गरे।  उनले प्रधानमन्त्री देउवा र केपी शर्मा ओलीबीच भएको भेटसम्बन्धी खबर नै झूट भएको दावी गरे। ‘एमसीसीले सत्ता गठबन्धन बगाउँदैन’, नेता नेपालले भने, ‘एमसीसीको कारण गठबन्धन फुट्छ भन्ने भ्रम र झूट केपी ओलीले फैलाएका हुन्। यो सत्य होइन।’  उनले आफूहरुको भेटमा सत्ता गठबन्धन आगामी तीन तहको निर्वाचनसम्मै लानेबारे प्रतिबद्धता व्यक्त भएको जानकारी दिए।  प्रतिनिधिसभाबाट एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच मतैक्य भएको छैन। दलैपिच्छे फरक–फरक धारणाले गर्दा एमसीसीले पाँचदलीय गठबन्धनको भविष्य संकटमा परेको विश्लेषण गरिँदै आएको छ।

संसदबाट एमसीसी पारित गराउन प्रधानमन्त्री देउवालाई अहिले चौतर्फी दबाब बढेको छ। तर माओवादी केन्द्र र एकीकृत समाजवादी भने संशोधनविना एमसीसी पारित गर्ने पक्षमा छैनन्। माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानपछि प्रधानमन्त्री देउवा एमसीसीमा संशोधन गर्ने पक्षमा देखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here