काठमाडाैं । बिहीवार साँझ नेपालस्थित अमेरिकी दूतावासले एउटा प्रश्न सोध्यो, आम नागरिकका लागि । कसले, कस्तो अवस्थामा बढ्ता प्रोपोगाण्डा गर्छ ? र, कहिले सबैभन्दा बढी प्रोपोगाण्डा भएको थियो ? भनेर राजदूतावासले आफ्नो फेसबुक र ट्वीट ह्याण्डिलबाट प्रश्न गर्यो ।
यो प्रश्न त्यतिबेला गरेको छ, जतिबेला सत्ता गठबन्धन दलका नेताहरु बालुवाटारमा बैठक बसिरहेका थिए, एमसीसी सम्झौताको विषयमा । सम्झौतालाई संसदमा टेबल गर्ने किन नगर्ने भन्ने विषयमा गबठन्धन दलहरुबीच सहमति नजुटेका कारण उनीहरु निरन्तर छलफलमा छन्
। ”एमसीसी नेपालका लागि अहित हुने सम्झौता हो र यसैबाट अमेरिकी सेना आउँछ” भनेर नेपालमा व्यापक चर्चा गरिन्छ । यही कुरालाई अमेरिकी दूतावासले ‘प्रोपोगाण्डा’को रुपमा व्याख्या गरेर उक्त प्रश्न गरेको थियो ।
सत्ता गबठन्धनका दलहरु बैठकमा बसिरहेका बेला अमेरिकी राजदूतावासले उक्त प्रश्न सामाजिक सञ्जालबाट नागरिकलाई सोध्नु संयोगमात्र होइन् । सत्ता गठबन्धनभित्रको माओवादी केन्द्र र एकीकृत समाजवादी दलप्रति लक्षित उक्त प्रश्न योजनाबद्ध रुपमा उठाईएको हो भनेर बुझ्न कठिन छैन । ती दलले एमसीसीको विषयमा ‘प्रोपोगाण्डा मच्चाए’काे आरोप नेपालस्थित अमेरिकी दूतावासको रहेकाे छ ।नेपालसँगको सात दशक लामो सम्बन्धमा संभवत पहिलोपटक अमेरिका एमसीसीकै कारण नेपालमा विवादित भएको छ । एमसीसी एउटा सामान्य आर्थिक परियाेजनामात्रै भएको र यस भित्र कुनै खराब नियत नभएकाे भए नेपालले जसरी पनि सम्झौता गर्नुपर्ने दबाब अमेरिकाले किन दिईरहेको छ त ? भन्ने प्रश्नको जवाफ पनि विश्वास लाग्ने गरी अमेरिकाले दिन सकेको छैन । यही एमसीसी परियोजनाप्रति नेपालमा राष्ट्रिय मुद्दा बनेर गम्भीर प्रश्न उठ्दा अमेरिकाले नेपालप्रति थप दबाब दिइरहेको छ, सम्झौतालाई प्रष्ट पार्नुको सट्टा ।
२०७८ फागुन ५ गते बिहीबार सामाजिक सञ्चालमार्फत अमेरिकी दूतावासले एमसीसीको विषयमा प्रोपागाण्डा भएको भनेर नेपालीलाई पाठ पढाइरहेका बेला उसले पत्रकारहरुलाई सामाचार लेखनमा पनि पढाउन थालेको छ । अमेरिकी दूतावासले अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँले र नेपाल टेलिभिजनकी समाचार सम्पादक शिवानी बस्नेत थापामार्फत पत्रकारहरुलाई समाचार लेखनको पाठ पढाएको थियो ।
अनि केही दिनअघिमात्रै कूटनीतिक क्षेत्रमा समाचार लेख्ने सीमित पत्रकारलाई बोलाएर राजदूत र्याण्डी बेरीले एमसीसीको पक्षमा माहोल बनाउने प्रयास गरेकाे पत्रकारहरूले बताउने गरेका छन्। पत्रकारहरसँगकाे भेटमा राजदूत र्याण्डी बेरीले डोनाल्ड लुले नेपालका नेतालाई नथर्काएको प्रष्टीकरण दिएका थिए ।
पत्रकारहरूकाे त्याे भेटमा राजदूत र्याण्डी बेरीले प्रचण्डकै कारण एमसीसी गिजोलिएको मात्र बताएनन् कि प्रचण्डमाथि अनौपचारिक रुपमा युद्धकालीन मुद्दाको प्रसंग उठाएका थिए ।
पत्रकारहरूका अनुसार, पटकपटक प्रचण्डको नाम लिएका वेरीले साँझ समाचारका लागि नोट नै पठाएका थिए । खासमा यी दुवै घटना अमेरिकी प्रोपोगण्डासँग जोडिएका थिए । तर, अमेरिकी दूतावाससले एमसीसीको विषयमा नेपाली नेताहरु प्रोपोगाण्डा गरेको आरोप लगाउन थालेको छ ।
पछिल्ला दिनमा अमेरिका एमसीसीकै कारण नेपालमा बदनाम भइरहेको छ । एमसीसीलाई सम्झौता अनुमोदन गराउन दलहरुमाथि दबाब त बढाइरहेको छ, नागरिक समाज, पत्रकारलाई पनि प्रभावमा लिइरहेको छ । चक्रपथ विस्तारको विरोध गर्न अमेरिकाको सहायता नियोग युएसएडको सहयोग गरेको केही महिनामात्रै भएको छ । चीनको सहयोग विस्तार हुन लागेको चक्रपथ परियोजनाको विरोधमा दुईमहिना अघि मात्रै आपंगहरुले जुलुस निकाले त्यसमा युएसएडले सहयोग गरेको थियो ।


















