निमकान्त पाण्डे
संसदवादी राजनीतिक दलका नेताहरु सबैले समाजवादका कुरा गर्छन । संविधानमै प्रस्तावनामा गन्तव्य समाजवादका कुरा लेखेका छन् । पार्टीका विधानहरुमा सबै पार्टीमा समाजवादको परिकल्पना गरेका छन् । तर समाजवादको गन्तव्य कुनै पार्टीले पछ्याउन सकेका छैनन् । बरु सबै दलहरुले मन्दिर सजाउने, चर्च बनाउने र भ्यू टावरहरु निर्माण गर्ने प्रतिस्पर्धा गरिरहेका छन् । नेताहरुको कार्यशैली देख्दा लाग्दछ — मन्दिर, चर्च र भ्यूटावरले जनतालाई समाजवादको स्वाद चखाउँदै छ ।
१० बर्षे जनयुद्ध गरेर १७ हजार नेपालीको रगतको पोखरीमा उभिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोल्पामा ६ करोड १० लाख ६५ हजार रुपैयाँको लगानीमा निर्माण भएको ‘भ्यु टावर’ उद्घाटन गर्नु भएको छ । गत सोमबार प्रचण्डले उद्घाटन गर्नु भएको भ्यू टावरका बारेमा निक्कै चर्चा सुरु भएको छ । भ्यू टावरबाट नेपालको गरिबी हेर्ने हो वा के हेर्ने हो ? जनतामा बेरोजगारी व्याप्त छ । रोजगारी सृजना गर्ने तर्पm भ्यू टावरको कुनै योगदान होला ? प्रचण्ड जस्तो नेताले भ्यू टावरमा लगानी गर्नु प्रत्यूत्पादक हो भन्ने कुरा अरुलाई बुझाउने पर्नेमा आपैmले नबुझेको जस्तो जनताले देख्नु परेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेकै बेला पशुपतिको मन्दिरमा सुनको जलहरी लगाउने काम सम्पन्न भएको हो । त्यसले नेपालमा विद्यमान समस्याहरु मध्ये कुन समस्यालाई सम्बोधन ग¥यो वा गर्ला भन्ने कुरा कम्युनिष्ट पृष्ठभूमिबाट वर्गसत्रु सफाया अभियानको नेतृत्व गर्दै सामन्तका नाममा मानिसका गर्धन छिनालेर राजनीतिमा उदाएका व्यक्तिले मन्दिर सजाएर किसान र मजदुरको समस्या समाधान हुने देख्न पुगेछन् ! यसले यस्तै सन्देश दिएको छैन र ?
त्यसैगरी निक्कै महत्व दिएर भुकम्पले ढालेको धरहरा निर्माण गराउन केपी ओलीलाई निक्कै हतारो भयो । त्यो निर्माण भएरै छोड्यो । धरहरा ठाडो भइसकेको छ । धरहरा झकिझकाउ पनि भइसकेको छ । तर धरहराले नेपाली जनतालाई के दियो ? अथवा भविष्यमा के देला ? जनतालाई रोजगारी देला ? किसानहरुलाई रासयनिक मल उपलब्ध गराउला ? जनताका छोरा छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गराउला ? महानगरपालिकाभित्र मोनोरेल गुडाउला ? धरहराले के देला ? वास्तवमा धरहराले केही दिने छैन । केवल काठमाडौंमा धरहरा छ भन्ने सन्देश मात्रै दिने हो ।
गत मंगलबार केपी ओलीले रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यू टावर उद्घाटन गर्नु भएको छ । ओलीले ‘भ्यू टावर’ बनाउने काम एमाले सरकारमा आएपछि सुरु भएको भन्दै आफ्नो कामको बयान गर्नु भयो । यो भ्यू टावरले रुपन्देहीका जनतालाई के दिने हो ? ओलीले बयान गर्नु भएन । उहाँको भाषण सुन्दा यस्तो लाग्थ्यो कि देश विकासका पूर्वाधारहरु नै भ्यू टावर बन्ने छन् ।
केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले रुकुममा पुगेर चर्च निर्माणका लागि शिलान्यास गर्नु भएको थियो । चर्च निर्माण भएपछि जनताले के पाउने हुन् ? जनयुद्धको शैन्य कमाण्डर बनेर युवाहरुलाई आमूल रुपान्तरणका लागि युद्धमा होमिन निर्देशन गर्दा यस्तै चर्च निर्माणको परिकल्पना कार्यकर्ताहरुलाई देखाइएको थियो र ? नेताहरुको कार्यशैली र प्रवृत्तिले गर्दा जनता हैरान भइरहेका छन् । नेताहरुले राजनीतिक परिवर्तनलाई जनताका बीचमा पु¥याउन आवश्यक ठानिरहेका छैनन् । राजनीतिक परिवर्तनको अर्थ के हो ? यो विषयमा नेताहरुले सोच्न सकिरहेका छैनन् । आपूmहरु प्रधानमन्त्री बन्नु र मन्त्री बन्नु नै राजनीतिक उपलब्धी ठानिरहेका नेताहरुले जनतामा चुलिदै गइरहेको असन्तुष्टि बिस्फोटक बन्ने अवस्था देखिदैछ ।
जनताका लागि प्राथमिकताका विषय के हुन् ? कमसेकम कम्युनिष्ट आवरणका नेताहरुले सोच्नु पर्दैन र ? जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडि बढ्न नेताहरुलाई अरुले सिकाउनु पर्ने हो र ? किसानका समस्या के छन् ? मजदुरका समस्या के छन् ? जनताका छोराछोरीले अस्पतालहरुमा उपचार गर्न सक्ने अवस्था छैन । जनताका छोराछोरीहरु रोजगारीका निम्ति विदेशी भूमिमा पसिना बगाउन बाध्य भइरहेका छन् । जनताका छोराछोरीहरुले स्कुलहरुमा पढ्न पाइरहेका छैनन् । के जनताका यस्ता समस्याहरु मन्दिर, चर्च र भ्यू टावरहरुले सम्बोधन गर्न सक्छन् ? नेताहरुले यस्ता विषय बारेमा कहिले सोच्ने ? कम्युनिष्ट नेताहरुले नसोचे कस्ले सोच्ने ? आगे कम्युनिष्ट आवरणका नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

















