सेवा सुविधा कार्यान्वयन नभएकाे भन्दै कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिए कर्मचारी

202

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरुले विरोध स्वरुप कालो पट्टी बाधेर सेवा दिएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघका अध्यक्ष आत्माराम तिमल्सिनाले छैठौं संशोधन प्रक्रिया नटुङ्गिदा कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

‘हामीले पटक–पटक यो विषयमा अस्पताल प्रशासनलाई ध्यानाकर्षण गरायौं । धेरै पटक आश्वासन मात्र पायौं । तर, हालसम्म पनि यो बिषयमा नेतृत्व तह गम्भीर भएको देखिएन,’ तिमल्सिनाले अनलाइनखरसँग भने, ‘आजदेखि विरोध स्वरुप कालो पट्टी बाँधेका छौैं । कानुन संशोधनको प्रक्रिया नबढेको खण्डमा धर्नासहित पेन डाउन गर्नेसम्मको कदम अगाडी बढाउँछौं ।’

विरोध स्वरुप उनीहरुले हातमा कालो पट्टी बाँध्ने कार्यक्रमसहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफ्ना माग पुरा गर्नका लागि संघले अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

९ वैशाखसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरुले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम उनीहरुले तय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here