काठमाडाैं । नेपाल औषधी उत्पादक संघले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधीको अभाव नरहेको जनाएको छ ।
पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधी पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ ।
नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधी उपलब्ध गराइरहेको सङ्घले जनाएको छ ।
अहिले औषधीको माग धेरै भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधको कारण केही ठाउँमा औषधि पुर्याउन केही ढिला भएको तर अभाव भने नरहेको संघले जनाएको छ ।
गएकाे वर्षको जेठदेखि औषधि उत्पादक संघले आफ्नो सदस्य उद्योगबाट लिएको मौज्दातको विवरण सार्वजनिक गर्दै आएको छ । अहिले पारासिटामोल मात्रै तीन करोड २५ लाख ट्याबलेट मौज्दातमा रहेको संघले जनाएको छ ।


















