काठमाडौं । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन्।
सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाँणले जानकारी गराए ।
उनका अनुसार दाहालसँगकाे आजकाे छलफल सकारात्मक भएको छ। सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो। राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो।
सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ। पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाँणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन्।
आइतबार साँझ मात्रै गृहमन्त्री खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए। सरकारले संसद्मा प्रस्त्त गर्ने नयाँ विधेयेकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ। विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन्। ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको छ।
नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनीकबाहेकका सामाजिक, आर्थिक र सास्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। यो विधेयकमा सरकारले गैरवाआसीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई संवोधन गर्नेछ।


















