चलचित्र विकास बोर्डका अध्यक्ष भएपछि भुवन केसीले सुझाव संकलन गर्ने

166

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको जनाएका छन् ।

यसका लागि आफू जहाँसुकै जान सक्ने समेत उनले जनाए ।  बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै उनी केही आक्रामक सुनिए । उनको यो आक्रामकता उनले धेरै पहिलेदेखि भन्दै आएको विदेशी फिल्मको नियन्त्रणतर्फ केन्द्रित रहेको अनुमान गरिएको छ ।

उनले भने, ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो । यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु । त्यसकारण म जहाँ पनि जान तयार छु चलचित्र क्षेत्रको लागि ।’  भुवन केसीजस्तो वरिष्ठ कलाकार राजनीति नियुक्तिको आधारमा अध्यक्ष पदमा पुगेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो जवाफ दिएका थिए । चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने भुवनको योजना छ ।

शहीद हुन तयार छु भन्ने भुवनको यो अभिव्यक्ति विदेशी फिल्मको नियन्त्रणतर्फ हो कि होइन, यो उनले अघि सार्ने योजनाले पुष्टि गर्नेछ । तर उनको यो अभिव्यक्तिले उक्त आशंकामा बल पुर्‍याएको देखिन्छ । धेरै पटक उनले विदेशी फिल्मलाई कोटा लगाउनेदेखि नियन्त्रण गर्नेसम्मको अभिव्यक्ति दिंदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here