चर्चा पाउने तर अलोकप्रिय बन्ने मेयर बालेनको कार्यशैली !

130

 

–निमकान्त पाण्डे

काठमाडौं महानगरले अहिले आफ्नो क्षेत्रमा अनधिकृत संरचना हटाउने अभियान थालेको छ, जसको नेतृत्व स्वयं मेयर बालेन शाहले गरेका छन् । मेयर शाहले अहिले आफैं नै फिल्डमा खटिएर नक्सापास नभएका संरचना र भूमिगत पार्किङ भनी अन्य पसल तथा गोदाम सञ्चालन भइरहेका संरचनाहरु हटाउन थालेका हुन् । बालेनको यो कदमले अहिले जति सामाजिक सञ्जालदेखि जनस्तरसम्म चर्चा पाएको छ, त्यतिकै रुपमा विवादित पनि बनेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा उठेर जनताको अपार माया र मत पाई काठमाडौं महानगरको मेयर बनेका बालेनले जनभावनाअनुसार काम गर्न नखोजेको र क्षणिक चर्चा हुने स्टन्ट मात्र देखाउन थालेको भन्दै आलोचना हुन थालेको हो ।

बालेनको अहिलेको कामको विवेचना गर्नुअघि उनीप्रति जनभावना कस्तो थियो भन्ने चर्चा पहिले आवश्यक छ । वर्षौंदेखि राजनीतिक दलको अकर्मण्यता, भ्रष्टाचार र जनहितविपरीत कामका कारण आजित बनेका जनताले स्वतन्त्र रुपमा उठेका बालेनलाई केही आशा र भरोसाका साथ गत स्थानीय तह निर्वाचनमा जिताएका हुन् । युवाका साथै शिक्षित र देशका लागि केही गरौं भन्ने सद्भावना देखेर नै बालेन जनताको रोजाइमा परेका हुन् । यत्तिको उम्मेदवारले जितेमा अब पनि पुरानै राजनीतिक ढर्राबाट काम नहुने र महानगरको विकास जनताले सोचेअनुरुप हुने आशा बालेनमा थियो । बालेन स्वयंले पनि आफ्ना कैयौं अन्तर्वार्ताहरुमा सर्वहारा वर्गको हित नै आफ्नो पहिलो प्राथमिकता हुने भन्दै ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएकै हुन् ।

तर, चुनावताकाका बालेन र मेयर भइसकेका बालेनमा भिन्नता आएको छ । चुनावको बेलामा गरिबको लागि ज्यान दिन पनि तयार हुने बालेन अहिले तिनै गरिबको रोजीरोटी खोस्न उद्यत भएका छन् । विशेषगरी फुटपाथका पसलहरु र भूमिगत पसलहरु हटाउनका लागि बालेनले जुन कार्यशैली अपनाएका छन्, त्यो निकै अराजक देखिएको हो । निश्चय पनि नै महानगरमा एउटा नक्सा पास गराएर अन्य अनधिकृत संरचना बनाउने, त्यसबाट लाभ लिने र त्यसको असर अन्यत्र पर्ने अवस्था आउनु ठीक होइन । तर, ती संरचनाहरु हटाउन बालेनले जुन शैली अपनाएका छन्, त्यो पनि सही मान्न सकिने अवस्था छैन ।

मेयर बालेनले अहिले ३५ दिने सूचना जारी गरेको भन्दै आफैं डोजर लिएर फिल्डमा उत्रिने र घरधनी, व्यवसायी र पसले कसैलाई पनि बोल्ने मौका नै नदिई संरचना भत्काउने गरेका छन् । यसका कारण दशैंको मुखमा थुप्रै साना मध्यमस्तरका व्यवसायीको उठिबास लागेको छ । बालेनले अहिले खासै पार्किङको समस्या नभएका अल्फा हाउस, नर्भिक हस्टिपटलगायत क्षेत्रमा पनि डोजर आतंक मच्चाउन थालेका छन् । यसले व्यवसायी तथा सर्वसाधारण नै हतोत्साही र निराश बनेका छन् । त्यति मात्र नभई व्यवसायीहरुको संगठनले बालेनको अहिलेको हर्कत अराजक भएको र यसलाई तुरुन्त बन्द गर्नुपर्ने भन्दै विरोध थालेका छन् ।

बालेनले अहिले गरेको कदम क्षणिक रुपमा हेर्दा ठीकै जस्तो देखिए पनि यसले निरन्तरता पाउने हो भने अराजकता फैलिनेछ । कुनै पनि व्यक्ति अधिकारसम्पन्न स्थानमा बस्नेबित्तिकै अर्को पक्षले बोल्नै नपाउने गरी एक्सनमा उत्रिने हो भने त्यसले द्वन्द्व निम्त्याउने निश्चित छ । त्यसैले सर्वप्रथम यस्ता अनधिकृत संरचना प्रयोग भइरहेका घरधनीलाई पत्र काट्ने, अटेर गरेमा सुविधा नदिने र स्वेच्छाले बेसमेन्ट खाली गराउन प्रोत्साहन गर्ने र सार्वजनिक आह्वानपछि पनि अटेर गरेमा मात्र महानगरले संचरना हटाउने कार्य अघि बढाउनुपर्छ ।

अर्कोतर्फ महानगरमा अहिले समाधान गर्नुपर्ने अन्य मुख्य समस्या थुप्रै छन् । फोहोरकै समस्या पनि अहिले बल्लतल्ल समाधान भएजस्तो देखिए पनि यो दीर्घकालीन छैन । फेरि सिसडोलबासीले आन्दोलन गर्ने हो भने महानगरमा फोहोरको समस्या विकराल बन्नेछ । बालेनले फोहोरको समस्या समाधान नगरेसम्म आफूले कार्यक्रमहरुमा सम्मान नै नलिने घोषणा गरेका छन् । तर उनको कार्यकालको ३ महिना बित्दासम्म पनि फोहोरको दीर्घकालीन समाधान निस्किन सकेको छैन । महानगरका सडकमा खाल्डाखुल्डी, धुँवाधुलो, पार्क, खानेपानी, शौचालय, शिक्षा, स्वास्थ्य जस्ता समस्या मुख्य रुपमा देखिएका छन् । तिनलाई समाधान गर्न बालेनको टिमले अहिले तदारुकता देखाउनुपर्ने हो । तर, उनी क्षणिक चर्चा हुने कार्यशैलीमा नै उत्रिएको प्रस्ट हुन्छ ।

बालेनको अहिलेको गतिविधिले उनलाई क्षणिक रुपमा चर्चा त देला, तर विस्तारै उनलाइ मतदान गर्ने जनतामा भने वितृष्णा र निराशा बढ्नेछ । स्वतन्त्र रुपमा जितेर आए पनि बालेन अन्य राजनीतिक दलका प्रतिनिधिभन्दा फरक नरहेको भान जनतालाई पर्दै जानेछ । नयाँ प्रतिनिधिबाट अब त राहत होला भन्ने आशा गरेकाहरुमा निराशा मात्र सञ्चार हुनेछ । यसले स्वतन्त्र जनप्रतिनिधिको लहर र उत्साह देशभर जुनरुपमा देखिएको छ, त्यो पनि मर्दै जानेछ । त्यसैले बालेनले अब आफ्नो कार्यशैलीबारे सोच्न र गम्भीर मनन गर्न आवश्यक छ । सामाजिक सञ्जाल र केही व्यक्तिको झुण्डको वाहवाही लिने कि दीर्घकालीन रुपमा जनताको मनमा बस्ने भन्ने कुराको रोजाइ बालेन स्वयंले गर्नुपर्नेछ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here