एमालेले ओलीलाई प्रधानमन्त्रीमा अगाडि बढायो ! गठबन्धनबाट ओलीको विकल्प को ?

72
एमालेले ओलीलाई प्रधानमन्त्रीमा अगाडि बढायो ! गठबन्धनबाट ओलीको विकल्प को ?
काठमाडौं / सत्ता गठबन्धनमा रहेका दलहरुबीच आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँट नै नमिलिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्रीको उम्मेदवार नै तय गरी निर्वाचनमा जाने तयारी थालेको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा निर्णय गर्दै निर्वाचनको तयारी गरेको हो । एमालेले झैं सत्ता गठबन्धन वा वाम गठबन्धनले आगामी निर्वाचनका लागि साझा प्रधानमन्त्री तय गरेर अघि बढ्ला त भन्ने प्रश्न अहिले तेर्सिएको छ ।
अहिले सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सम्झौता भएको छ तर सिट बाँडफाँट लगायत विषय मिलेको छैन । कांग्रेस सकेसम्म अधिकतम सिट आफ्नो भागमा पर्नुपर्ने अडानमा छ । अन्य दलको पनि उस्तै अडान छ । त्यसकारण सहमति बन्न नसक्दा अहिले सत्ता गठबन्धनको विकल्पमा वाम गठबन्धन अगाडि आएको छ । विशेषगरी नेता वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानको रुपमा सारिएको वाम मोर्चाको अवधारणाले वामपन्थी दलहरु एक ठाउँमा आएका हुन् । तर अभियानले यसपटक उमेदवारी नदिने निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्र, नेकपा एस, नेकपा मसालको बैधानिक मोर्चा राजमो, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी अहिले वाम गठबन्धनमा देखिएका छन् । यद्यपि, यी दलहरुबीच पनि सिट बाँडफाँट र साझा प्रधानमन्त्री चयनको विषयमा सहमति भइसकेको छैन ।
एमालेले आगामी  निर्वाचनमा बहुमत हासिल गर्ने महत्वाकांक्षी लक्ष्यसहित त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय गरेको हो । एमालेको केन्द्रीय कमिटीको शनिबारको बैठकले आगामी निर्वाचनमा ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने संकल्प गरेको छ । उसले राजनीतिक स्थायित्वका लागि एमालेको पक्षमा जनादेश दिन आह्वान पनि गरेको छ । यसले सत्तारूढ गठबन्धन र वाम गठबन्धनमाथि दबाब समेत बढाएको छ । ओलीले आगामी चुनावी अभियानमा आममानिसमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचार गर्ने र एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद नदोहो¥याउने भएको छ । केन्द्रीय कमिटी बैठकले स्थानीय तहमा निर्वाचित भएकालाई राजीनामा दिएर संघीय तथा प्रदेशसभाको सांसद नउठाउने गरी मापदण्ड निर्धारण गरेको हो । राष्ट्रिय सभाका सांसद र स्थानीय तह चुनावमा पराजित भएकालाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
सिट बाँडफाँटमा रूमलिएको गठबन्धनका दलहरूले भावी प्रधानमन्त्रीको साझा उम्मेदवारको हालसम्म छलफल पनि गर्न सकेका छैनन् । सत्तारुढ कांग्रेसमा नै प्रधानमन्त्रीको थुप्रै आकांक्षी छन् । तर हालका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्रीको प्रबल दाबेदार छन् । देउवा गठबन्धनबाट यसपटक चुनावमा होमिने र फेरि एकपटक मुलुकको प्रधानमन्त्री बन्ने सोचमा छन् । त्यसका लागि गठबन्धनमा यदि कांग्रेसको भागमा दाबी गरेभन्दा पनि कम सिट पाएमा पनि उनी सहमत हुने देखिएका छन् । तर, उनलाई कम सिट पाउनेगरी सम्झौता नगर्न कांग्रेसभित्रबाट नै दबाब छ । देउवाको प्रबल प्रतिस्पर्धीमा गठबन्धनभित्रकै अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । प्रचण्डले त केही समयअघि सार्वजनिक कार्यक्रममा निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने चाहना नै व्यक्ति गरेका थिए । दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड फेरि सत्ताको प्रमुख बन्ने दाउमा छन् । सत्ताको उतारचढावको मुख्य खेलाडी भए पनि पछिल्ला वर्षमा उनले नेतृत्व लिन भने पाएका छैनन् । यसकारण पनि यसपटक उनको मुख्य दाबी हो । नेकपा एसबाट माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेता प्रधानमन्त्रीका दाबेदारमा रहे पनि उनीहरुको सम्भावना निकै न्यून छ । अझ खनाल त पाए राष्ट्रपतिको दौडमा छन् ।
गठबन्धनकै भविष्य अन्योलमा रहेकाले पनि यसबाट साझा प्रधानमन्त्री चुनिने सम्भावना अत्यन्त न्यून रहेको नेताहरु बताउँछन् । यता, वाम गठबन्धन बनेर निर्वाचनमा गएमा भने साझा प्रधानमन्त्रीको उम्मेदवार तय हुने सम्भावना हुनेछ । त्यसमा प्रचण्ड नै मुख्य दाबेदार रहनेछन् ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here