सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान

38

सर्लाही । सर्लाहीमा ‘बच्चा चोर’को अफवाह नरोकिँदा प्रहरी हैरान भएका छन्। गाउँघर तथा बजार क्षेत्रमा यसअघिदेखि नै मागेर खाँदै हिँड्ने मानिसलाई समेत अहिले हल्लाकै भरमा ‘बच्चा चोर’को आरोप लगाई कुटपिट गरेर प्रहरीलाई बुझाउने क्रम बढ्दो छ।

बुधबार राति मात्रै लालबन्दी नगरपालिका–९, बस्तीपुर क्षेत्रबाट स्थानीयले ‘बच्चा चोर’ भन्दै एक पुरुषलाई प्रहरीको जिम्मा लगाएका थिए तर सोधखोज गर्दा ती व्यक्ति ‘बच्चा चोर’ नभई एक/डेढ महिनादेखि लालबन्दी बजार क्षेत्रमा मागेर खाँदै हिँड्ने बेवारिसे मानिस भएको खुलेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। जिल्लाको लालबन्दी, हरिवन, मलङ्गवालगायतको स्थानबाट स्थानीयले यसरी ‘बच्चा चोर’ भन्दै बुझाइएका व्यक्ति मागेर खाँदै हिँड्ने र मानसिक सन्तुलन ठीक नभएको पाइएको बताइएको छ।

प्रहरीले हल्लाको पछाडि लागेर त्यस्ता सडक मानवलाई दुर्व्यवहार तथा कुटपिट नगर्न आग्रह गरेको छ। सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षक विजय यादवले ‘बच्चा चोर’ भन्दै स्थानीयले विभिन्न स्थानबाट बुझाएका व्यक्तिमध्ये कसैको पनि शङ्कास्पद गतिविधि नदेखिएको बताउनुभयो। यो अफवाहले प्रहरी आजित भएको प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो। सर्लाही प्रहरीले गाउँघरमा देखिएका नयाँ नौलो मानिसको गतिविधि शङ्कास्पद देखिए प्रहरीमा खबर गर्न अन्यथा मागी खाँदै हिँड्नेलाई ‘बच्चा चोर’को आरोप लगाइ दुर्व्यवहार नगर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here