सिकाली जात्राको हर्षोल्लास

85

ललितपुर । ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीको दिनमा देवी देवताको नाच गरिन्छ ।

छैटौँ दिन (षष्ठी) शनिबार भने सिकाली मन्दिरमा रुद्रायणी देवगणहरूले नृत्य प्रस्तुत गरेका छन् । गुठीका १४ जनाले आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाएर मन्दिरपरिसरमा उफ्रिएर नृत्य देखाउँएका छन् । सिकाली जात्राका बेला देखाइने नाचहरूको जिम्मा श्री रुद्रायणी गुठीमा रहेको हुन्छ । गुठीमा रहेका ४६ जना देवगण (गुठीयार)हरूबीच कार्यविभाजन गरिएको हुन्छ । सबैजना महर्जन-डङ्गोल खलकका हुन्छन् ।

गुठीका बैदार बेखनर महर्जनले सिकाली जात्राअन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, वाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार)को नाच देखाइने जानकारी दिँदै ४६ जनामध्ये १४ जना देवदेवीको भूमिकामा रहने बताउनुभयो । “सबै देवगणहरूलाई मन्दिरभित्र लगेर वीरभद्र, महाकालीका रूपमा तान्त्रिक विधिबाट मन्दिरबाहिर निकालिन्छ,” उहाँले भन्नुभयो, “त्यसपछि सिकालीपरिसरमा नचाइन्छ । सिकाली चउरबाट नाच्दै देवगणहरूले गाउँ परिक्रमा गर्छन् ।”

उहाँले रुद्रायणी गुठीयार सिकाली चौरमा मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा धार्मिक मान्यताअनुसार अश्वमेघ यज्ञमा सहभागी हुन्छन् यो नै मुख्य आकर्षणका रूपमा लिने बताउनुभयो । महर्जनले चउरमा नृत्यमार्फत देवगणहरूले यज्ञमा सेतीदेवी होमिदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस गरेको दृश्य देखाइएको बताउनुभयो । सप्तमीका दिन खोकना तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याँख)का रूपमा लिइन्छ । जुन जात्राको मुख्य रौनकका रूपमा लिइन्छ । “सप्तमीका दिन राति क्वँलाछीमा नाच देखाइन्छ,” महर्जनले थप्नुभयो, “अष्टमीमा रुद्रायणी मन्दिरमा मूर्ति र ख्वापाः पुनः प्रतिस्थापन गरिन्छ । जात्राकै समय त्यहाँ आफन्तहरूलाई बोलाइन्छ र भोज गरिन्छ ।”

किन मनाइँदैन दशैँ ?

खोकनामा दशैँ नमनाइनुको किंवदन्ती भने रमाइलो छ । महिषासुर नाम गरेको दानवले देवताहरूलाई धेरै दुःख दिएछन् । महिषासुर बसेको ठाउँ पत्ता लगाउन देवताको बैठक बस्यो र उसलाई खोज्ने निर्णय भयो । खोज्दासमेत महिषासुर भेटिएनन् र देवताहरूले मायादेवीको क्षमापूजा गर्ने निधो गरे । भैरव, काली, कुमारी र वाराहीलाई भोग चढाउन बलि दिइयो । समस्या समाधान भयो तर फेरि केही समयपछि उस्तै । सङ्कट बढ्दै गएपछि राक्षसहरूबाट बच्न बस्ती नै सार्ने निधो गरियो, अहिलेको खोकनामा ।

देवीले नयाँ स्थानमा बस्न त मानिन् तर भोग लिन मानिनन् । त्यसैले भोग भने रुद्रायणी मन्दिरमा नभई पुरानो मन्दिर भएको स्थान सिकालीमा लगेर चढाइन्छ । अहिलेसम्म त्यही परम्परा निरन्तर चलिआएको छ । पहिले यो जात्रा गाईजात्राका बेला मनाइने भए पनि बस्ती सार्दा जात्राको तिथि पनि परिवर्तन गरियो । नयाँ तिथि निकाल्दा दशैँसँग मिल्न पुग्यो । त्यसपछि खोकनावासीले दशैँ नमनाएको स्थानीयको भनाइ छ । यलु जाेशी गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here