साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

43

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।

दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ । मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ ।

आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मंगलबार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार हुँदा नेपाल लाइफको २ करोड ४३ लाख ६८ हजार र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य २ करोड १९ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । मंगलबार कारोबार भएकामध्ये समिट लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

साथै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ८.५२ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले वृद्धि भएको छ । यता बिन्दवासिनी लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावरको सेयर मूल्य ४.२६ प्रतिशत र नेरुडे लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here