त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित

29

काठमाडौं ।आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आइतबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो।  टस हारेर पहिले व्याटिङ गरेको नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको कमजोर लक्ष्य दिएको थियो।

स्कटल्याण्डले ३२ ओभर १ बलमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रन बनाए। यस्तै, ब्रेन्डन म्याकमलन ३२, माइकल लिस्कले २२, जर्ज मुन्शेले १७ र म्याथ्यु क्रसले १३ रन बनाए।  नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई–दुई विकेट लिए।

यसअघि पहिले व्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १३७ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले २९, ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन जोडे पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।  स्कटल्याण्डका क्रिस सोलले तीन, मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले समान एक विकेट लिए।  यसअघि नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक बाँडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here