मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरे

70

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा मृगौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेका छन्। यति लामो समयदेखि कुरेर लाइनमा बस्दा पनि आफूहरूले पालाे नपाएकाे उनीहरूकाे गुनासाे छ।

अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौदेखि ८५ जना बिरामीले पालो कुरिरहेका छन्। उनीहरूले पालो पाएका छैनन्। पालो कुरिरहेका कतिपय सम्पर्कविहीन भइसकेका छन्। उनीहरूको मृत्यु भयो वा अन्यत्र गए अस्पताललाई जानकारी छैन। भेरीमा चार वटा डायलासिस मेसिन छन्। तीमध्येमा एउटा आपतकालीन अवस्थामा र अरु तीन वटालाई नियमित बिरामीलाई प्रयोग गर्ने गरिएको छ। भेरीमा अहिले ३६ जना बिरामीले नियमित डायलासिस गराइरहेका छन्। अस्पतालमा थप ६ वटा मेसिन आइपुगेको छ।

यी मेसिन आएको धेरै भइसकेपनि जडान गरिएको छैन। ‘पानी’को समस्याले गर्दा ती मेसिन जडान हुन नसकेको युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए। भदौदेखि कोहलपुर मेडिकल भित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिन थालेपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको थियो। कोहलपुरमा मेसिन बिग्रिने, बनिहाले पनि आवश्यक सामान समयमा नआउने हुनाले त्यहाँका बिरामी भेरीको सम्पर्कमा आएका छन्।

पछिल्लो हप्तादेखि कोहलपुरमा डायलासिस ठप्पै छ। युनिट प्रमुख डा. श्रेष्ठले कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउदा यहाँ चाप बढेको बताए। कोहलपुरमा डायलासिस नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरु निजी या भेरीको आपतकालिन कक्षमा आएर सेवा लिएका छन्। नियमित डायलासिस गर्नेहरु भेरीमा लाइनमा रहेका छन्। भेरीको तीन वटा मेसिनले पहिलेदेखि नै रुटिनमा रहेकाहरूलाई सेवा दिइरहेको छ। भदौदेखि नै नयाँलाई पालो दिन सकेको छैन। सरकारले मृगौलाका बिरामीलाई नि:शुल्क डायलासिस र मासिक पाँच हजार भत्ता दिने भनेपनि त्यो सेवा विरामीले पाइरहेका छैनन्।

नियमित रुपमा डायलासिस गर्न नपाएर बिरामी छट्पटिरहदा सरकारले कोहलपुरमा डायलासिस सञ्चालन गरेको बिरंग हेल्थ केयर प्रालिलाई दबाब दिन सकेको छैन। न त यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरीले नै सबैलाई सहज रुपमा त्यो सेवा उपलब्ध गराउन सकेको छ। युनिट प्रमुख डा. श्रेष्ठले बिरामीले दैनिक नै फोन गरेर पालो सोध्ने गरेको बताए। ‘हामीलाई सधै फोन गरेर बिरामीले पालो सोध्नु हुन्छ। हामीले भदौदेखि नै सम्पर्कमा ८५ जनालाई पालो दिन सकेका छैनौ’, डा. श्रेष्ठले भने, ‘पालोका लागि फोन गरिरहने कतिपय सम्पर्कविहीन भइसकेका छन् । केही अन्यत्र गएर डायलासिस गरिरहेका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here