आफ्नै खुट्टामा उभिनेगरी सोच्न नेता कार्यकर्तालाई ‘प्रचण्ड’ ले दिए निर्देशन

25

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै खुट्टामा उभिनेगरी सोच्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार ललितपुरमा आयोजित प्रेस सेन्टरको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले पत्रकारसहित नेता कार्यकर्तालाई निराशा मात्रै नबाँड्न सुझाव दिए ।

तत्कालीन जनयुद्धमा जस्तै क्रान्तिकारी र उर्जावान भएर पार्टी संगठन क्रियाशील बनाउन उनले आग्रह गरे । ‘तत्कालीन जनयुद्धमा पार्टीका नेता कार्यकर्ता यो गर्न सकिँदैन होला भन्ने काम पनि पुरा गरेको इतिहास छ । अहिले नुन खाएको कुखुरा जस्तै निदाए जस्तै भयो । यो तरिकाले संगठन चल्दैन’ प्रचण्डले भने, ‘नयाँ जोश जाँगरकासाथ उत्साहित भई संगठन क्रियाशील बनाउन लागियौं भने हामी फेरि देशको नेतृत्व गर्ने अवस्थामा पुग्छौं ।’ अब माओवादीलाई क्रान्तिकारी र व्यवस्थित पार्टी कसरी बनाउन सकिन्छ भन्ने विषयमा बहस र छलफल गर्न लाग्न प्रचण्डले निर्देशन दिए । ‘हामी सम्पूर्ण रुपमा सकियो भन्नेगरी समीक्षा नगरौं । हामी एकले अर्कोसँग कुरा गर्दा खतम भयौं भन्दा प्रतिक्रियावादीले त्यहीँ प्रचार गरे ’ प्रचण्डले भने–‘हामी खतम भएका छैनौ हामी सकिदैनौं । हाम्रो इतिहास खतम हुनेवाला होइन ।’

अहिलेकै जस्तै पार्टी बनाउने हो भने विघटन गरौं
जनयुद्धकालीन जस्तै बहस र छलफल गर्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्ने प्रचण्डले बताए । ‘जनयुद्धमा कमजोरी हुन्थ्यो समीक्षा, बहस र छलफल गरेर अन्तमा एक ढिक्का भएर निस्किन्थ्यौँ ।

त्यसपछि एकपछि अर्को हुँदै विजयी हुँदै गएको हो’ प्रचण्डले भने– ‘तर, अहिले त्यस्तो छैन । अहिले हामी राम्रो छौं कसरी भन्ने हो रु विचार र सिद्धान्तको कुरा गर्दा हामीभन्दा अर्को कुनै पार्टी छैन ।’ मार्क्‍सवाद र समाजवादप्रति माओवादी नै प्रतिवद्ध अर्को पार्टी नभएको प्रचण्डले दाबी गरे ।

राष्ट्र र जनताप्रति निष्ठावान पार्टी समेत माओवादी भएको उनले दाबी गरेका छन् । आफूमा जति निष्ठा छ त्यो जनतामा प्रस्तुत गर्ने संस्कार हराएर गएको भन्दै प्रचण्डले दुःख व्यक्त गरे । अहिले आफूले आफैंलाई समेत विश्वास हुन नसक्ने अवस्थामा पुग्नु दुःखद भएको उनले बताए ।

अहिलेकै जस्तो पार्टी बनाउने हो भने विघटन गर्नुपर्ने प्रचण्डले बताए । ‘अब आक्रामक ढंगले लागौं । हामी आफ्नो स्वतन्त्र धार बनाएर लैजाउँ र क्रान्तिकारी बनाउँ’ प्रचण्डले भने, ‘मैले बेलाबेला भन्छु यस्तै यस्तै हुने हो भने यस्तै पार्टी रहनुभन्दा नरहनु राष्ट्रको पक्षमा हुन्छ ।’

आफैले पार्टी विघटन गर्नुलाई नेगेटिभ रुपमा भन्न नखोजेको बताउँदै प्रचण्डले स्वार्थ केन्द्रित अवसरवादी पार्टी बनाउन नहुने बताए । ‘हामीले पार्टीलाई बदल्न नसक्ने हो । यहीँ पद प्रतिष्ठा, व्यक्तिगत स्वार्थ कमिसन सबै खालको विसंगति जाने हो भने त्यस्तो गर्ने अरु पार्टी छँदै छन् । हामी किन मिसिन पर्यो रु’ प्रचण्डले उदारण दिँदै भने, ‘अन्तर्राष्ट्रिय संगठन बनाएको मार्क्सले हो । विघटन पनि आफैले गरेको हो । यो सबै अवसरवाद कहाँ गयो । यो अवसरवादी संगठन बचाई राख्ने भन्दा विघटन गर्दा मजदुर वर्ग र जनतालाई हित हुन्छ भन्नुभयो ।’ यस्तै पार्टी बचाउने भन्दा विघटन गरेमा फेरि क्रान्तिकारी पार्टी र शक्तिहरू आउने प्रचण्डको भनाई छ ।

पहिलो चरणमा सरकारको नेतृत्व कसले लिने सहमति गर्छौं

सरकार आलोपालो चलाउने विषयमा कुनै विवाद नभएको प्रचण्डले बताए । ‘आलोपालो सरकार चलाउने प्रष्टै छ । निर्वाचन आयोगले सबै नतिजा राष्ट्रपतिलाई बुझाएपछि संसदीय दलको बैठक हुन्छ । त्यसपछि कसले पहिलो चरणमा सरकारको नेतृत्व गर्ने भन्ने बारेमा छलफल गरेर सहमति गर्नेछौं’ प्रचण्डले भने । माओवादी बाहिरबाट हेरेको जस्ता कमजोर नभएको उनले बताए । ‘हामी बाहिर हेर्दा कमजोर भएका छौं भन्ने छ । हामी जहाँ उभिन्छौं त्यहीं सरकार बन्ने अवस्था छ । बरु हामी दरोसँग उभिनुपर्ने छ । लुलोसँग उभिएर हुँदैन’ उनले भने ।

शक्तिशाली छानविन समिति बनाएर भ्रष्टाचारका विषयमा छानबिन गरेर सुशासन कायम गर्न मन भएको प्रचण्डले बताए । पार्टीको घोषणापत्रमा समेटिएको विषयबस्तु जस्तै शक्तिशाली आयोग गठन गरेर विशिष्ट कर्मचारी सहित पूर्व प्रधानमन्त्री, मन्त्री सांसदको सम्पति छानविन गर्ने प्रचण्डले बताए ।

‘मलाई सरकारको नेतृत्व गरेर शक्तिशाली संरचनामार्फत छानविन गर्न मन छ । हामी नै परेपनि भ्रष्टाचारी माथि प्रहार गर्न मन छ । अब भ्रष्टाचारलाई नियन्त्रण गर्न भन्ने अभियान सरकारको तर्फबाट चलाए नयाँ सन्देश दिन सकिनेछ । त्यसो भएमा देश र पार्टीलाई नयाँ ठाउँमा लग्न सकिन्छ’ प्रचण्डले भने, ‘विकास निर्माण र भौतिक संरचनाका मेघा प्रोजेक्ट सम्पन्न भयो भन्दा वित्तिकै नयाँ ठाउँमा पुगिन्छ ।’ अहिले विद्युत निर्यात गर्ने वित्तिकै जनतामा नयाँ उत्साह पैदा भएको प्रचण्डको भनाई छ ।

कांग्रेस र एमालेले सरकार बनाए टेन्सन छैन
यदि आफूहरूलाई बाइपास गरेर कांग्रेस र एमालेले सरकार बनाएपनि कुनै समस्या नहुने प्रचण्डले बताए । यदि संसदका दुई ठुला दल मिलेर सरकार बनाएमा आफूहरूले सडकको मोर्चालाई सशक्त बनाएर दबाब दिने बताए । ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउने भन्ने चर्चा सुनिन्छ ।

उनीहरूले भित्रभित्र कुरा गरेको सुनिन्छ’ प्रचण्डले भने, ‘यदि कांग्रेस एमाले मिलेर सरकार बनाए पनि टेन्सन मान्दिन । तपाईहरु पनि टेन्सन नमान्नुहोला । हामी सरकारमा नगए प्रमुख प्रतिपक्ष हुन्छौं । सदन र सडक दुवै हाम्रो हुन्छ ।’ यदि पार्टी प्रतिपक्षमा भएमा संगठनलाई बदलेर रिभाईभ गर्ने अवसर हुने प्रचण्डले बताए । तर, उनले कांग्रेस एमाले मिलेर सरकार बनाउन उति सजिलो नभएको प्रष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here