देउवाले दिए पौडेललाई चेतावनी

127

काठमाडौं / निर्वाचनको हारको विषयलाई लिएर नेपाली कांग्रेसका नेताहरूबीच अझै झगडा साम्य भएको छैन । काठमाडौंमा मंगलबार आयोजित पार्टीको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आरोप–प्रत्यारोपले सो कुरा पुष्टि गरेको हो ।

 

कार्यक्रममा देउवाले आफ्नो विरोध नगर्न पार्टीभित्रका विरोधी पक्षलाई चेतावनी दिएका छन् । पौडेलले आफूलाई चाहिएका बेला विधान र सहमतिको कुरा गर्ने गरेको देउवाको आरोप छ । उनले भने– ‘कि विधानअनुसार चल्नुप¥यो कि सहमतिअनुसार चल्नुप¥यो । सहमति र विधान दुवै कहाँ हुन्छ ? कि सहमति भन्नुस् विधान जे सुकै होस्, कि विधानअनुसार जाउँ भन्नुस् । आफूलाई चाहिएको बेला विधान, आफूलाई चाहिएको बेला सहमति, यो कहीँ मिल्छ ?’ उनले वर्तमान सरकारले महँगी बढाएको भन्दै बरु यस विषयमा विरोध गर्नुपर्ने जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका हदैसम्मको चाकडी देखाएको भन्दै यस्तो प्रवृत्तिको विरोध गर्नुपर्ने जनाए । कांग्रेसमा एक–अर्काको आलोचना गर्ने परिपाटीले अहिलेको अवस्था आएको सभापति देउवाको दाबी थियो । ‘शेरबहादुरको विरोध गरेर चुनौतीको सामना गर्न सकिनेवालै छैन । चुनौतीको सामना गर्न पार्टी एक हुन जरुरी छ,’ उनले भने ।

 

वरिष्ठ नेता पौडेलले सभापति देउवा विधानअनुसार सहमतिमा अगाडि नबढेको आरोप लगाए । पार्टीका उपसभापति विमलेन्द्र निधिले अहिले आरोप–प्रत्यारोप गरेर समय नखर्चिन आग्रह गरे । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एकताबद्ध हुनुको विकल्प नभएको विचार प्रस्तुत गरेका थिए ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here