लमजुङ । लमजुङको घलेगाउँमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालयनजिकै पाखोचौरमा रहेका ३ जना घाइते भएकाे हाे ।
मेघगर्जनसहित पानी परिरहेको बेला चट्याङ पर्दा क्व्होलासोंथार गाउँपालिका ३, बगुमका डिलेश्वर गुरुङ, उक्त वडाकै खोगुमका चेतकुमारी गुरुङ र एकजना अपरिचित युवक घाइते भएको वडाअध्यक्ष आसबीर गुरुङले बताए । उनीहरुलाई उपचारको लागि गाउँपालिकाको सवारी साधनमार्फत पोखरा पठाइएको छ ।
घलेगाउँमै रहेका मालिङ प्रहरी चौकीका असई श्रीराम श्रेष्ठका अनुसार घलेगाउँमा फुटवलको फाइनल खेलपछि पुरस्कार वितरणको कार्यक्रम सञ्चालन गर्दै गरेको डिलेश्वर, कार्यक्रम हेर्दै गरेका चेतकुमारी र अर्को एकजना दर्शक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर बुद्धिप्रसाद गुरुङले घाइतेहरू बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको र उपचार भइरहेको जनाए ।


















